सामाजिक सञ्जालको दुरुपयोग गरी महिला तथा नाबालिकाको चरित्र हत्या, दुर्व्यवहार र ब्ल्याकमेल गरेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । प्रहरीको ‘अप्रेसन डिजिटल अनर’ अभियानअन्तर्गत देशका विभिन्न स्थानबाट उनीहरूलाई एकैदिन नियन्त्रणमा लिइएको हो ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा काठमाडौँका २६ वर्षीय आशिष तामाङ, ललितपुरका ३७ वर्षीय रोहित विक्रम राणा, भारतको बिहार घर भएका ३२ वर्षीय महमद फेसल एजाज, इलामका ३७ वर्षीय विमल दर्जी खत्री र म्याग्दीका ५६ वर्षीय दिलबहादुर मगर रहेका छन् ।
यस्तै, उदयपुरका २५ वर्षीय सुवास कार्की, सुर्खेतका ३२ वर्षीय चिरञ्जीवी सापकोटा तथा कास्कीबाट १५ र १६ वर्ष उमेर समूहका दुई किशोरसमेत पक्राउ परेका छन् । नाबालक भएकाले कास्कीबाट पक्राउ परेका दुई किशोरको नाम सार्वजनिक गरिएको छैन ।
पक्राउ परेकामध्ये केहीले फेसबुकमा नक्कली खाता (फेक अकाउन्ट) बनाएर अश्लील तस्बिर तथा भिडियो तयार पारी चरित्र हत्या र ब्ल्याकमेल गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
पक्राउ परेका सबैजनाविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



