इन्फो नेपाल — सञ्चारको सञ्जाल

बागमतीमा दश वर्षे विकास खाका तयार गरिने, भोटेकोसी बाढीपीडित बालबालिकाको अभिभावकत्व लिइने

हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेश स्थापनादेखि हालसम्म भएका कामको समीक्षा गर्दै आगामी दश वर्षको रणनीतिक विकास खाका तयार गर्ने निर्णय गरेको छ । प्रदेश मन्त्रिपरिषद्को १८औँ बैठकले मुख्यमन्त्रीको संयोजकत्वमा उच्चस्तरीय निर्देशक समिति गठन गर्ने निर्णय गरेको हो ।

​मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री भरतबहादुर केसीले प्रदेशका १३ वटै जिल्ला, ११९ स्थानीय तह र सबै वडामा प्रदेशको उपस्थिति तथा कामको प्रभावबारे लेखाजोखा गरिने बताए । सोही समीक्षाका आधारमा समितिले आगामी दश वर्षे गुरुयोजना निर्माण गर्नेछ ।

​यस्तै, बैठकले भोटेकोसीको बाढीबाट बाबु वा आमामध्ये कुनै एक अभिभावक गुमाएका बालबालिकाको पनि अभिभावकत्व ग्रहण गरी अध्ययन तथा व्यवस्थापनको सुविधा दिने निर्णय गरेको छ । यसअघि दुवै अभिभावक गुमाएका बालबालिकालाई मात्र यस्तो सुविधा दिने निर्णय भएको थियो ।

​स्थानीय तहमा अहेव, अनमी र असिस्टेन्ट सबइन्जिनियरजस्ता चौथो तहका प्राविधिक जनशक्ति अभाव हुन नदिन स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन संशोधन विधेयक प्रदेशसभामा पेस गर्ने निर्णयसमेत बैठकले गरेको छ । हाल पाँचौँ तहदेखि मात्र विज्ञापन गर्ने व्यवस्थाका कारण चौथो तहमा पदपूर्ति हुन सकेको थिएन ।

​सरकारले प्रदेशभित्रका मालपोत कार्यालयको स्रेस्ता व्यवस्थापनलगायत कामका लागि विभिन्न सङ्घीय कार्यालयलाई करिब ४ करोड ७० लाख रुपैयाँ बजेट उपलब्ध गराउने निर्णय गरेको छ । घरजग्गा रजिस्ट्रेसन दस्तुरको राजस्व प्रदेशलाई समेत प्राप्त हुने भएकाले कार्यालय व्यवस्थापनमा सघाउन बजेट दिन लागिएको प्रवक्ता केसीले जानकारी दिए ।

​यसैगरी, व्यवस्थित बस्ती विकास र जग्गा एकीकरणसम्बन्धी ऐन, २०८३ तर्जुमाका लागि सैद्धान्तिक सहमति दिइएको छ भने रामेछापको मन्थली नगरपालिका–६ मा बन्ने फोहरमैला व्यवस्थापन केन्द्रलाई जग्गा प्राप्तिका लागि प्राथमिकताप्राप्त आयोजना तोकिएको छ ।

​बैठकले सबै जिल्लाका लागि मासु सुपरिवेक्षक तोक्ने, पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजनाको अस्थायी दरबन्दी स्वीकृत गर्ने तथा खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयमा एघारौँ तहको एक प्राविधिक पद थप गर्ने निर्णय गरेको छ ।

​यस्तै, उद्योग, पर्यटन तथा यातायात मन्त्रालयको उद्योगतर्फको सचिवको जिम्मेवारी साविककै सचिव दीपेन्द्र सुवेदीलाई तोकिएको छ भने रिक्त सुपरिटेन्डेन्ट इन्जिनियर र प्रदेश निजामती किताबखानाको एघारौँ तहको निर्देशक पदमा तल्लो तहका कर्मचारीलाई कायममुकायम मुकरर गर्ने निर्णय भएको छ ।

सम्बन्धित समाचार

दशौँ राष्ट्रिय खेलकुदको पौडीमा बागमती च्याम्पियन, एनआरएन दोस्रो र आर्मी तेस्रो

मकवानपुर । दशौँ राष्ट्रिय खेलकुदअन्तर्गत पौडी प्रतियोगिता तथा २३औँ राष्ट्रिय पौडी च्याम्पियनसिपमा बागमती प्रदेश च्याम्पियन बनेको छ। बागमतीले १६ स्वर्ण, ९ रजत र १० कांस्यसहित कुल ३५…

तुइनखोलामा पहिरो रोकथामका लागि नारायणगढ–मुग्लिन सडक दैनिक पाँच घण्टा बन्द हुने

नारायणगढ–मुग्लिन सडकखण्डको तुइनखोलामा पहिरो रोकथामको काम सुरु हुने भएपछि सडकमा दैनिक पाँच घण्टा सवारी आवागमन बन्द गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले मंसिर १३ गतेदेखि अर्…

होल्डिङ सेन्टरमा खाना रोकियो, चिउरा र दालमोठको भर

भक्तपुर । भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा आश्रित सुकुम्बासीहरू सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका छन्। सरकारले उपलब्ध गराउँदै आएको खाना रोकिदिएपछि उनीहरूले दालमोठ र चिउरा खाएर प…