इन्फो नेपाल — सञ्चारको सञ्जाल

पौडीमा २६ पदकसहित बागमती शीर्षमा, तेस्रो दिनका तीनै स्वर्ण कीर्तिमानसहित

दशौँ राष्ट्रिय खेलकुदअन्तर्गत २३औँ राष्ट्रिय पौडी प्रतियोगिताको तेस्रो दिनसम्म बागमती प्रदेश १२ स्वर्ण, सात रजत र सात कांस्यसहित पदक तालिकाको शीर्ष स्थानमा छ । बिहीबार बागमतीले जितेका तीनै स्वर्णमा १६ वर्षीय अभिभ प्रधानको योगदान रह्यो । उनले दुई व्यक्तिगत स्पर्धामा राष्ट्रिय कीर्तिमान बनाए भने रिलेमा तीन सहखेलाडीसँग मिलेर अर्को कीर्तिमान कायम गरे ।

पुरुष १०० मिटर बटरफ्लाईमा अभिभले ५८.२२ सेकेन्डमा दूरी पूरा गर्दै अनुभव सुब्बाको ५९.५४ सेकेन्डको कीर्तिमान तोडे । पुरुष ५० मिटर ब्याकस्ट्रोकमा भने उनले आफ्नै समय सुधारे । यसअघि २८.९९ सेकेन्डको कीर्तिमान बनाएका अभिभले यसपटक २८.९५ सेकेन्डमा दूरी पूरा गरे । यही स्पर्धामा बागमतीकै रेवन्तबहादुर श्रेष्ठले २९.९२ सेकेन्डमा कांस्य जिते ।

दिनको तेस्रो कीर्तिमान पुरुष ४×१०० मिटर फ्रिस्टाइल रिलेमा बन्यो । रेवन्तबहादुर श्रेष्ठ, आरक कर्माचार्य, वशिष्ठराज शाही र अभिभ प्रधानको टोलीले ३ मिनेट ४५.७५ सेकेन्डमा दूरी पूरा गर्दै बागमतीलाई स्वर्ण दिलायो ।

बुधबार महिला १०० मिटर ब्याकस्ट्रोकमा स्वर्ण जितेकी बागमतीकी आर्या महर्जनले बिहीबार ५० मिटर ब्याकस्ट्रोकमा रजत थपिन् । बागमतीले महिला ४×२०० मिटर फ्रिस्टाइल रिले र पुरुष ४×५० मिटर मेड्ले रिलेमा पनि रजत जित्यो । यससँगै दोस्रो दिनसम्म १९ पदक जितेको बागमतीले तेस्रो दिन तीन स्वर्ण, तीन रजत र एक कांस्य थपेर पदक सङ्ख्या २६ पुर्‍यायो ।

प्रदेश खेलकुद विकास परिषद्, बागमतीका अनुसार अभिभले व्यक्तिगत र रिले स्पर्धामा गरी नौ स्वर्ण र तीन रजत जितेका छन् । उनका तीनै रजत पुरुष ४×१०० मिटर मेड्ले, ४×५० मिटर मेड्ले र ४×२०० मिटर फ्रिस्टाइल रिलेमा आएका हुन् । बुधबार पुरुष १०० मिटर ब्याकस्ट्रोकमा १ मिनेट १.५१ सेकेन्डको कीर्तिमान बनाएका अभिभ दुई दिनमा तीन व्यक्तिगत र एक सामूहिक राष्ट्रिय कीर्तिमानमा सहभागी भए ।

सम्बन्धित समाचार

दशौँ राष्ट्रिय खेलकुदको पौडीमा बागमती च्याम्पियन, एनआरएन दोस्रो र आर्मी तेस्रो

मकवानपुर । दशौँ राष्ट्रिय खेलकुदअन्तर्गत पौडी प्रतियोगिता तथा २३औँ राष्ट्रिय पौडी च्याम्पियनसिपमा बागमती प्रदेश च्याम्पियन बनेको छ। बागमतीले १६ स्वर्ण, ९ रजत र १० कांस्यसहित कुल ३५…

तुइनखोलामा पहिरो रोकथामका लागि नारायणगढ–मुग्लिन सडक दैनिक पाँच घण्टा बन्द हुने

नारायणगढ–मुग्लिन सडकखण्डको तुइनखोलामा पहिरो रोकथामको काम सुरु हुने भएपछि सडकमा दैनिक पाँच घण्टा सवारी आवागमन बन्द गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले मंसिर १३ गतेदेखि अर्…

होल्डिङ सेन्टरमा खाना रोकियो, चिउरा र दालमोठको भर

भक्तपुर । भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा आश्रित सुकुम्बासीहरू सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका छन्। सरकारले उपलब्ध गराउँदै आएको खाना रोकिदिएपछि उनीहरूले दालमोठ र चिउरा खाएर प…