काठमाडाैँ। सेवाग्राहीसँग घुस लिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि बाँकेमा कार्यरत दुई ट्राफिक प्रहरी जवान निलम्बनमा परेका छन्। निलम्बनमा पर्नेमा अस्थायी ट्राफिक प्रहरी पोस्ट धनौलीका प्रहरी जवान श्रीषराम थारु र अस्थायी ट्राफिक प्रहरी पोस्ट नेपालगञ्जका प्रहरी जवान तोपबहादुर खड्का रहेका छन्।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले शुक्रबारदेखि लागू हुने गरी दुवैजनालाई निलम्बन गरेको हो। कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) मोहनजंग बुढथापाका अनुसार उनीहरूमाथि थप छानबिन तथा अनुसन्धान सुरु गरिएको छ।
दुवैजना जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके मातहत कार्यरत थिए। ड्युटीमा खटिएका बेला उनीहरूले सेवाग्राहीसँग रकम लिएको भिडियो गत बिहीबार सामाजिक सञ्जालमा बाहिरिएको थियो। सोही भिडियोका आधारमा कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।



