काठमाडौं | जल तथा मौसम विज्ञान विभागले आगामी २४ घण्टाको मौसम पूर्वानुमान जारी गर्दै देशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। मनसुनी वायुको प्रभावका साथै बंगलादेशको उत्तर भू-भाग र भारतको पश्चिम बंगालमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभावले मौसममा बदली हुने अनुमान गरिएको छ।
असोज १९ गते शनिबार राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने बाँकी भू-भागमा आंशिक बदलीसहित मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा अन्य प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ।
आइतबार दिनभर देशभर आंशिकदेखि साधारण बदली रहिरहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ। राति पनि पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहने अनुमान गरिएको छ, भने कोशी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना कायम रहनेछ।
सोमबार पनि देशभर आंशिकदेखि साधारण बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षा हुन सक्ने सम्भावना छ। राति पनि यस्तै मौसम रहने अनुमान छ।
कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा अन्य प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेको विभागले जनाएको छ। त्यस्तै, ती क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो र भू-क्षयको जोखिम रहन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।