काठमाडौं | हिमाली र पहाडी जिल्लाहरूमा आज रङ्गहरूको चहकिलो पर्व होली मनाइँदैछ। फागुन शुक्ल पूर्णिमाका दिन यो पर्व मनाउने परम्परा रहेको छ।
होली अर्थात् फागु पर्वलाई परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन चलन छ। हिमाल र पहाडी जिल्लाहरूमा आज होली मनाइँदै छ भने तराईका जिल्लाहरूमा भोलि सोमबार भव्य रूपमा मनाइनेछ।
दुई दिनसम्म यो पर्व मनाइए पनि यसको औपचारिक सुरुवात भने होलीको चीर ठड्याएको दिनदेखि नै हुन्छ। यसपालि चैत्र ८ गते नै बसन्तपुरमा होलीको चीर ठड्याइएको थियो। त्यो चीरलाई आज टुँडिखेलमा विधिपूर्वक जलाइनेछ।
त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्नो छोरा प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले नछुने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका नै भष्म भएकी थिइन्। भक्त प्रह्लादलाई भने आगोले छुन सकेन।
त्यसबेलादेखि नै शक्तिको दुरुपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा सुरु भएको विश्वास गरिन्छ।



