भरतपुर । बागमती प्रदेशका निवर्तमान स्वास्थ्य मन्त्री उत्तम जोशीले आज भरतपुर महानगरपालिका वडा नं. २ मा नयाँ स्वास्थ्य चौकीको शिलान्यास गरेका छन्। बागमती प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गत ‘एक प्रदेश एक निर्वाचन क्षेत्र स्वास्थ्य संस्था सवलिकरण तथा सुदृढीकरण कार्यक्रम’ अन्तर्गत उक्त स्वास्थ्य चौकी निर्माण गर्न लागिएको हो ।
शिलान्यास समारोहमा बोल्दै मन्त्री जोशीले स्वास्थ्यलाई प्राथमिकतामा राख्दै गाउँगाउँमा स्वास्थ्य सेवाको पहुँच पुर्याउने प्रयास भइरहेको बताए। उनले भने, “यो स्वास्थ्य चौकी निर्माण भएपछि स्थानीयवासीहरूले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न सक्नेछन्। गाउँ गाउँमा स्वास्थ्य सेवाको सहज पहुँच हुनेछ ।”
कार्यक्रम भवन निर्माण समितिका अध्यक्ष विजय पराजुलीको सभापतित्वमा भएको थियो भने वडा अध्यक्ष मनोज रानाभाट, राजनीतिक दलका प्रतिनिधि, टोल सुधार समितिका पदाधिकारी र आमा समूहका सदस्यहरू उपस्थित थिए। नयाँ स्वास्थ्य चौकीमा आधुनिक सुविधाहरू हुनेछन् र यसले वडावासीहरूको लामो समयदेखिको मागलाई पूरा गर्नेछ।
यस स्वास्थ्य चौकीको निर्माणपछि वडा नं. २ का सबै बस्तीहरूमा स्वास्थ्य सेवाको पहुँच पुग्ने विश्वास गरिएको छ।



