हेटौँडा | मकवानपुरको मनहरी गाउँपालिकाले विपन्न परिवारको काजकिरियाका लागि प्रदान गर्दै आएको आर्थिक सहयोगलाई निरन्तरता दिएको छ।
गाउँपालिका अध्यक्ष रञ्जन कालाखेती र वडा नं. ८ का वडाध्यक्ष नारायण उप्रेतीसहितको टोलीले मंगलबार मनहरी–८ का चार परिवारलाई जनही २० हजार रुपैयाँका दरले नगद सहयोग तथा श्रद्धाञ्जलीपत्र हस्तान्तरण गरेको हो।
हालै निधन भएका कृष्णबहादुर प्रजा, लोकप्रसाद सुवेदी, बाबुराम स्याङ्तान र विमन विकको परिवारलाई घरमै पुगेर पालिकाले मृत्यु दर्तासहित काजकिरिया खर्चका लागि सहयोग हस्तान्तरण गरेको हो।
विपन्न परिवारलाई आफन्तको मृत्युपछि काजकिरिया गर्न कठिन हुने अवस्था आउन नदिन पालिकाले अघिल्लो आर्थिक वर्षदेखि यस्तो सहयोग कार्यक्रम सञ्चालन गर्दै आएको छ।
गाउँपालिकाका अध्यक्ष कालाखेतीका अनुसार “आर्थिक अभावकै कारण अन्त्येष्टि रोकिने अवस्था आउन नदिन हामीले कार्यपालिकाको निर्णयबाट यो कार्यक्रम अघि बढाएका हौँ। विगत वर्षमा मात्रै करिब १८० परिवारलाई सहयोग गरेका थियौँ।”
वडा कार्यालयबाट मृत्युदर्ता र विपन्नताको सिफारिस भएपछि गाउँपालिकाले प्रतिपरिवार २० हजार रुपैयाँको सहयोग प्रदान गर्ने गरेको छ। पालिकाका जनप्रतिनिधिहरू आफैँ पीडित परिवारको घरमा पुगेर श्रद्धाञ्जलीसहित नगद सहयोग हस्तान्तरण गर्ने गर्छन्।
अध्यक्ष कालाखेतीले भने, “यो केवल आर्थिक सहायता होइन, गाउँपालिकाले दुःखमा रहेका परिवारसँग सहानुभूति प्रकट गर्ने मानवीय पहल पनि हो।”



