बागमती प्रदेशमकवानपुरवि.पी. स्मृति दिवसमा हेटौँडामा विचार गोष्ठी, वृक्षारोपण र सामाजिक सहयोग

वि.पी. स्मृति दिवसमा हेटौँडामा विचार गोष्ठी, वृक्षारोपण र सामाजिक सहयोग

हेटौँडा | नेपाली काँग्रेसका संस्थापक नेता तथा प्रजातान्त्रिक आन्दोलनका अग्रणी व्यक्तित्व बीपी कोइरालाको ४३ औं स्मृति दिवसको अवसरमा वि.पी. विचार समाज मकवानपुरले मंगलबार हेटौंडा–११ स्थित वि.पी. बाटिकामा सरसफाइ, वृक्षारोपण तथा विचार गोष्ठी कार्यक्रम सम्पन्न गरेको छ।

“आजको परिवेशमा वि.पी.लाई कसरी सम्झने?” विषयमा आयोजित विचार गोष्ठीले बीपी कोइरालाका बहुआयामिक योगदानलाई पुनः स्मरण गराउँदै समसामयिक सन्दर्भमा उनको सोच र दृष्टिकोणको औचित्यबारे गहन छलफल गरेको थियो।

कार्यक्रम समाजका अध्यक्ष विनोदचन्द्र कोइरालाको अध्यक्षता र वडा नम्बर ११ की वडाध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

कार्यक्रममा बोल्दै वडाध्यक्ष दाहालले बीपी कोइरालालाई समावेशी, दूरदर्शी र जनमुखी नेताको रूपमा स्मरण गरिन्। “वि.पी. कोइराला मानव मात्र होइन, महामानव थिए,” उनले भनिन्, “उनका विचारहरू अहिलेको राजनीतिक र सामाजिक परिवेशमा अझ सान्दर्भिक छन्।”

कार्यक्रममा काँग्रेस बागमती प्रदेश समिति सदस्य जानकी लामा, हेटौंडा नगर सभापति उत्सव इटेनी, समाजका प्रदेश संयोजक तीर्थ पराजुली, प्रमुख सल्लाहकार कृष्णप्रसाद दाहाल, सल्लाहकार माधव आचार्य, विजेन्द्र अग्रवाल, वडा नम्बर ११ का सभापति दीपक उप्रेती, वडा नम्बर ६ का सभापति रामहरि तिमल्सिना, अपाङ्ग महासंघका केन्द्रीय सदस्य रामेश्वर पराजुली, काँग्रेस मकवानपुर क्षेत्र नं. १ का सह–सचिव केदार ढोडारी, उपाध्यक्ष प्रदीप कोइरालालगायतको उल्लेखनीय सहभागिता रहेको थियो।

विचार गोष्ठीपश्चात वि.पी. बाटिकामा सरसफाइ तथा विभिन्न प्रजातिका विरुवाहरूको वृक्षारोपण गरिएको थियो। साथै, समाजले हेटौंडा–१४ स्थित अनाथ अपाङ्ग बाल पुनःस्थापना केन्द्रलाई नगद सहयोगसमेत हस्तान्तरण गरेको कार्यक्रम सचिव हरिप्रसाद पौडेलले जानकारी दिए।

वि.पी. विचार समाजले हरेक वर्ष स्मृति दिवसको अवसरमा सामाजिक, वातावरणीय र जनचेतनामूलक कार्यक्रम आयोजना गर्दै बीपी कोइरालाको योगदानलाई स्मरण गर्दै आएको छ। समाजले बीपी कोइरालाका विचारहरू आजको लोकतान्त्रिक अभ्यास र नीति निर्माणमा मार्गदर्शक बन्न सक्ने विश्वास व्यक्त गरेको छ।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img