हेटौँडा | पर्सा जिल्लाको कालिकामाई गाउँपालिका–९, जानकीटोलका द्वारिका यादव आफ्नो परिवारबाट टाढा हेटौँडामा ज्याला मजदुरी गर्न आएका थिए। दैनिक कमाइले घर चलाउने उनीजस्ता मजदुरका लागि जोखिमपूर्ण काम नै जीविकाको आधार बनेको छ।
हेटौँडाको सडक विस्तारका क्रममा डोजरले अधकल्चो अवस्थामा छाडिएका घर–टहरा भत्काउने काममा खटिएका यादव शुक्रबार एक घरबाट खसेर गम्भीर घाइते भए। हाल उनी हेटौँडास्थित सञ्चो अस्पतालको आईसीयूमा उपचाररत छन्।

यादवको परिवार आर्थिक रूपमा अत्यन्त कमजोर छ। उपचार खर्च जुटाउन नसक्ने अवस्थामा पुगेपछि उनकी श्रीमती बबिता यादव छिमेकी र आफन्तको सहारामा छन्। “पैसा नतिरे अस्पतालबाट निकाल्ने भनिएको छ,” भन्दै उनले चिन्ता पोखिन्।
यादव मात्र होइन, सडक विस्तारका क्रममा यस्ता जोखिमपूर्ण काम गर्दा पछिल्लो एक सातामै पाँच जना निर्माण श्रमिक घाइते भएका छन्। आइतबार हेटौँडा उपमहानगरपालिका–१, मकवानपुर उद्योग वाणिज्य संघ अगाडि रहेको एक घर भत्काउने क्रममा तीन जना मजदुर घाइते भए।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार घाइते हुनेमा मकवानपुरगढी गाउँपालिका–१ रानीसेराका २२ वर्षीय सन्तोष भ्लोन, उदयपुर गाईघाट नगरपालिका–९ का २६ वर्षीय दिनेश चौधरी र उदयपुर बेलका नगरपालिका–१ पुरन्दाका ३० वर्षीय अरुण चौधरी छन्। ढलान फोर्ने क्रममा अचानक संरचना भत्किँदा उनीहरू घाइते भएका हुन्।
सन्तोष र दिनेशको मकवानपुर सहकारी अस्पतालमा तथा अरुणको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ। तीनै जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
यसअघि बुधबार पनि घर सफा गर्ने क्रममा रौतहटको माधवनारायण नगरपालिका–७ का १९ वर्षीय जितेन्द्र माझी घाइते भएका थिए। दुई तला माथिको ढलान अचानक तल खस्दा उनको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ। उनी पनि सञ्चो अस्पतालको आईसीयूमै उपचाररत छन्।
घाइते भएका श्रमिकहरू सबैजसो ज्याला मजदुरी गरेर दैनिक गुजारा चलाउने आर्थिक रूपमा विपन्न परिवारका हुन्। उदयपुरका दिनेश चौधरी भन्छन्, “दैनिक कमाइले घर चलाउँथेँ, अहिले उपचार खर्च कसरी जुटाउने भन्ने चिन्ता छ।”

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पर्ने हेटौँडा बजार क्षेत्रमा सडक डिभिजन कार्यालय हेटौँडाले मङ्सिर २० गते २५ गजभित्र पर्ने पाँच सयभन्दा बढी घर–टहरामा डोजर चलाएको थियो। डोजर लगाएर अधकल्चो अवस्थामा छाडिएका ती घर अहिले घरधनीले निर्माण श्रमिकको साहाराले आफैं सफा गरिरहेका छन्। तर आवश्यक सुरक्षा मापदण्ड नअपनाउँदा दुर्घटना बढिरहेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पछिल्लो एक सातामै यस्ता घटनामा पाँच जना निर्माण श्रमिक घाइते भएका छन्।

स्थानीयवासीका अनुसार सडक डिभिजन कार्यालय हेटौँडाले डोजर लगाएर छाडेका घर–टहराले मुख्य बजार क्षेत्रमा निर्माण श्रमिक मात्र होइन, पैदलयात्रीका लागि समेत सुरक्षा जोखिम बढाएको छ। उनीहरुका अनुसार सडक डिभिजन, स्थानीय प्रशासन र हेटौँडा उपमहानगरपालिकाबीच आवश्यक समन्वय र सुरक्षा व्यवस्थापन नहुँदा दुर्घटना रोकिएको छैन।
सडक विस्तार राज्यको योजना भए पनि त्यसको जोखिम र उपचारको भार भने कमजोर आर्थिक अवस्थाका श्रमिकले नै बोक्नुपरेको अवस्था देखिएको छ। सुरक्षा मापदण्ड, बीमा र उपचारको सुनिश्चितता बिना अधकल्चा संरचनामा काम गर्न बाध्य पारिँदा श्रमिकको जीवन नै जोखिममा परेको स्थानीयको आरोप छ।



