विराटनगर – नौ महिनाअघि बथनाहा (भारत) देखि विराटनगरसम्म शुरु भएको मालवाहक रेल सेवा अनिश्चित बनेको छ। नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा उद्घाटन गरेको उक्त रेल सेवाले निरन्तरता पाउन सकेको छैन।
गएको जेठ १८ गते विराटनगरमा सामान ल्याएर फर्किएको रेल सेवा अहिलेसम्म पुनः सञ्चालन हुन नसकेको छ। आयात लागत घटाउने उद्देश्यले सुरु गरिएको यो रेल सेवा अहिले अलपत्र बन्दै गएको छ।
नेपालले भारतसँग गरेको रुट सम्झौताअनुसार सीमित मालसामान मात्र आयात गर्न पाउने भएकाले रेल सेवा अनिश्चित बनेको नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष पवन सारडाले बताए। “सरकारले सबै प्रकारका तयारी मालसामान तथा औद्योगिक कच्चा पदार्थ आयातको अनुमति नदिएपछि कार्गो रेल पुनः सञ्चालनको सम्भावना घट्दै गएको छ,” उनले भने।
सम्झौतामा कोलकाता बन्दरगाहबाट विराटनगर भन्सारसम्म रासायनिक मल, पत्थर, कोइला, क्लिङ्कर र सिमेन्टमात्र आयात गर्न पाउने व्यवस्था छ। तर सीमित मालसामान मात्र आयात गर्न पाउँदा लागत बचत गर्न नसकिने भन्दै उद्योगी व्यवसायीहरूले असन्तुष्टि जनाएका छन्।
उद्घाटनको समयमा धेरैमा उत्साह छाएको थियो, तर सरकारले दीर्घकालीन सोच नराखेको गुनासो छ। विराटनगरस्थित एकीकृत भन्सार जाँच बिन्दु (आईपीपी) मा निर्माण भएको रेल्वे कस्टम यार्डसम्म रेल चलाइसकेको छ, तर अब के हुन्छ भन्ने अनिश्चितता बाँकी नै छ।