देशकोशी प्रदेशइटहरीका सबै विद्यालयमा एउटै पोसाक लागू

इटहरीका सबै विद्यालयमा एउटै पोसाक लागू

इटहरी- इटहरीमा अगामी शैक्षिक सत्रदेखि सबै विद्यालयमा एकीकृत विद्यालय पोसाक लागू गर्ने तयारी भइरहेको छ। इटहरी उपमहानगरपालिकाले विद्यार्थीहरूमा बढ्दो असमानतालाई ध्यानमा राखेर यस्तो निर्णय गरेको हो।

इटहरीमा १३४ वटा निजी र ३६ वटा सामुदायिक गरी १७० विद्यालय रहेका छन्। यी सबै विद्यालयका ६३ हजार ५ सय २६ जना विद्यार्थी अब एउटै ढाँचाको पोसाक लगाएर विद्यालय जानेछन्।

नगर शिक्षा समिति इटहरीका अनुसार विद्यालयहरूले आ-आफ्नै पोसाकको व्यवस्था गर्दा विद्यार्थीमा विभेद देखिन थालेको थियो। यसलाई रोक्न एउटै पोसाकको व्यवस्था गरिएको हो।

नयाँ व्यवस्थाअनुसार सबै विद्यार्थीले हल्का नीलो रंगको पाइन्ट र सेतो रंगको शर्ट लगाउनुपर्नेछ। टाई हटाइएको छ भने कपालमा भादगाउले टोपी नै लगाउनुपर्नेछ।

यस अघि कतिपय निजी विद्यालयले आफ्ना विद्यार्थीलाई अत्यधिक मूल्यको विशेष पोसाक लगाउन बाध्य गर्दै आएको आरोप लाग्दै आएको थियो। नगरपालिकाका अनुसार यसलाई पनि नियन्त्रण गर्नु एकीकृत पोसाकको उद्देश्य रहेको छ।

एकीकृत पोसाक लागू गर्नुअघि नै नगरपालिकाले विद्यालयलाई विभिन्न प्रतिबन्धसमेत लगाइसकेको छ। विद्यालयभित्र स्टेशनरी सामान बिक्री गर्न रोक लगाइएको छ। साथै कक्षा कोठा चढे जति पनि भर्ना शुल्क लिन नपाउने व्यवस्था गरिएको छ।

इटहरी उपमहानगरका प्रमुख हेमकर्ण पौडेलका अनुसार विद्यालय शिक्षालाई सहज, सरल र गुणस्तरीय बनाउन यस्ता कदम चालिएको हो। विद्यालयबाटै हुने विभेदलाई हटाउन र अभिभावकलाई राहत दिन यी निर्णयहरू कार्यान्वयनमा ल्याइने उनले बताए।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img