भोजपुर- भोजपुरको षडानन्द नगरपालिकामा कोशी प्रदेश अन्तर पालिकास्तरिय भलिवल प्रतियोगिता शुरु भएको छ । ‘सुन्दर प्रकृति र स्वर्गरुपी मेरो देश खेलकुदमार्फत पर्यटनको सन्देश’ भन्ने मुल नाराका साथ प्रतियोगिता शुरु भएको हो ।
प्रतियोगिताको प्रदेशसभा सांसद विनोद वान्तावाले बुधबार उद्घाटन गरेका थिए । प्रतियोगितामा विभिन्न स्थानीय तहका आठ वटा टिमको सहभागिता रहेको छ । कार्यक्रममा बोल्दै षडानन्द नगरपालिका उपप्रमुख प्रमिला राईले षडानन्दले खेल क्षेत्रमा पहिचान बनाउन सफल भएको बताइन् । खेलसँग षडानन्द नगरपालिकाको गहिरो र प्रभावकारी सम्वन्ध जोडिएको बताउँदै उहाँले देशमा रहेको आर्थिक समस्याका कारण नगर आउने बजेट प्रयाप्त नहुँदा खेल क्षेत्रमा सोचे अनुसार लगानी गर्न नसकिएको धाराणा राखिन् ।
नगरपालिका प्रमुख सुरेन्द्र कुमार उदासले खेल क्षेत्रको विकासको लागि राज्यले ध्यान दिनु पर्ने बताए । खेललाई जीविकोपार्जनसँग जोड्दै खेलाडीहरुको बृद्धि विकासमा जोड दिनु पर्ने उनको भनाइ छ । खेल क्षेत्रको विकासमा नगरले पनि ध्यान दिँदै आएको बताउदै उहाँले केन्द्र र प्रदेश सरकारले खेलको योजनाबद्ध विकासमा ध्यान दिनु धाराणा राखे ।
कोशी प्रदेश सभा सांसद विनोद वान्तावाले खेल क्षेत्रको विकासमा राज्य गम्भिर बन्नुपर्ने बताए । खेल क्षेत्रमा आफ्नो पहिचान बनाएका खेलाडीहरु पनि आर्थिक अभावमा जिउनु पर्ने बाध्यात्मक अवस्था रहेको बताए ।
बुधबारबाट शुरु भएको प्रतियोगिता माघ २७ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा प्रथम बन्ने टिमले नगद रु. एक लाख ५० हजारको साथ ट्रफि मेडल र प्रमाण पत्र पाउने भने द्धितिय र तृतिय बन्ने टिमले प्रमाण पत्रको साथमा नगद रु. एक लाख र रु ५० हजार पाउने आयोजकाले जनाएको छ ।