Friday, January 17, 2025
फिचरराति पनि झकिझकाउ हेटौँडा बजार: सुरक्षित र सुन्दर बनाउने अभियानमा मेयर लामा

राति पनि झकिझकाउ हेटौँडा बजार: सुरक्षित र सुन्दर बनाउने अभियानमा मेयर लामा

हेटौँडा | हेटौँडा बजार क्षेत्र अहिले राति पनि झकिझकाउ देखिन्छ। तिहारको झिलिमिली सकिएपछि पनि यहाँको उज्यालोपन भने कायमै रहेको छ। यो सबै सम्भव भएको छ हेटौँडा उपमहानगरपालिकाको नयाँ योजनाको कारण  । उपमहानगरले नगरलाई उज्यालो र सुरक्षित बनाउने उद्देश्यले बजार क्षेत्रका सडकहरूमा आकर्षक बत्तीहरू जडान गर्न सुरु गरेको छ। यस कामका लागि नगरपालिकाले ५२ लाख रुपैयाँ बजेट छुट्याएर यस परियोजनालाई अघि सरेको छ ।

यो योजना उपमहानगरले आकर्षक र सुरक्षित हेटौँडा निर्माण गर्ने दीर्घकालीन लक्ष्यअनुसार अघि सारेको हो। योजना अन्तर्गत प्रमुख बजार क्षेत्रहरूमा रातिको समयमा पर्याप्त उज्यालो पुर्‍याउने उद्देश्यले सडक बत्तीहरूको जडान भइरहेको छ।

बजार क्षेत्रमा बत्ती जडान भएपछि अधिकांश स्थानीय व्यवसायी र बासिन्दाले यो परिवर्तनलाई स्वागत गरेका छन्। उनीहरूले नगरपालिकाको यो कदमले बजारलाई थप सुरक्षित र सौन्दर्यपूर्ण बनाएको प्रतिक्रिया दिएका छन्। सिमा चोकमा ठेलामा म:म बेचिरहेका एक व्यवसायीले भने, “पहिलेको भन्दा अहिले उज्यालो भएर ब्यापार बढेको छ, फोटो खिच्न घुम्न आउने बढ्न थालेका कारण पनि ब्यापार बढेको हो ।”

सडकमा पैदल यात्रा गरिरहेका एक सर्वसाधारणले भने, “उज्यालोका कारण वातावरण नै परिवर्तन भएको छ। रति हिड्दा सुरक्षित महसुस र रमाईलो अनुभूति भएको छ ।”

तर, यस परियोजनाबारे सबैको धारणा सकारात्मक भने छैन। केही स्थानीयले भने यो कामलाई आलोचना पनि गरेका छन्। उनीहरूको धारणा अनुसार, बजार क्षेत्रका मुख्य सडक अझै पनि साँघुरा र अव्यवस्थित छन्। उनीहरूले उज्यालो मात्र नभई सडक विस्तारलाई पनि प्राथमिकता दिनुपर्ने बताएका छन्। एक स्थानीयले भने, “सडक बत्तीको आवश्यकता त थियो, तर योभन्दा पहिले सडक विस्तार गर्नुपर्थ्यो। बजारका सडकहरू साँघुरा छन्। यदि सडक विस्तार गरेर मात्र सिंगारिएको भए, नगरको सौन्दर्य अझ राम्रो देखिन्थ्यो।”

बत्ती जडानपछि व्यवसायीहरूले व्यापार बढेको महसुस गरेका छन्। खासगरी रातिको समयमा बजारमा उज्यालो भएपछि ग्राहकहरूको संख्या वृद्धि भएको छ। “पहिले साँझपख ग्राहक घट्थे, तर अहिले राति पनि राम्रो व्यापार गर्न पाएका छौं,” एक पसलेले भने। ग्राहकहरूले पनि अहिले झिलिमिली बजारमा किनमेल गर्न रमाइलो भएको बताएका छन्।

उपलब्ध पूर्वाधारलाई थप सुरक्षित र सुन्दर बनाउले काम..

उपमहानगर प्रमुख मिना कुमारी लामाका अनुसार, यो उज्यालो अभियानलाई नगरका अन्य क्षेत्रमा पनि विस्तार गरिनेछ। उनले इन्फो नेपालसंग पतिक्रिया दिंदै भनिन्, “बत्तीले नगरलाई सुरक्षित र आकर्षक बनाउने हाम्रो लक्ष्य हो। यसले पर्यटन प्रवर्द्धनमा पनि टेवा पुर्‍याउनेछ।”

लामाले आलोचनात्मक प्रतिक्रियालाई सकारात्मक रूपमा लिँदै, उपमहानगरपालिकाले आगामी दिनमा थप सुधारका कामहरूमा ध्यान दिने प्रतिबद्धता व्यक्त गरिन्। उनले भनिन्, “हाम्रो उद्देश्य दीर्घकालीन सुधारको हो। सडक विस्तार र व्यवस्थित नगर विकासको काममा केही समय लाग्न सक्छ, तर हामीले अहिलेका उपलब्ध स्रोत र साधनलाई प्रभावकारी रूपमा प्रयोग गरिरहेका छौँ।”

उनले अहिले सडकमा हालको बत्ती जडान अभियानलाई प्राथमिकता दिनुको कारण स्पष्ट पार्दै भनिन्, “हामीले अहिले उपलब्ध पूर्वाधारलाई थप सुरक्षित र सुन्दर बनाउन काम गरिरहेका छौँ। बत्तीहरूलाई यसरी जडान गरिएको छ कि भविष्यमा सडक विस्तार गर्दा निकालेर पुन:प्रयोग गर्न सकिनेछ।” लामाले भविष्यमा नगरलाई व्यवस्थित र दीगो बनाउनका लागि ठूला पूर्वाधार परियोजनाहरूमा पनि ध्यान दिने योजना रहेको बताइन्। “सडक विस्तार, ट्राफिक व्यवस्थापन, र अन्य पूर्वाधार सुधार हाम्रो आगामी योजनाका महत्वपूर्ण अंगहरू हुन्। यी सबै योजनाहरूले हेटौँडालाई आधुनिक र व्यवस्थित बनाउनेछन्,” उनले थपिन्।

यस अभियानले नगरको वर्तमान अवस्थालाई सुधार गर्ने मात्र होइन, भविष्यका लागि दीगो पूर्वाधार विकासको आधारशीला राख्ने विश्वास मेयर लामाले व्यक्त गरिन्। “नगरवासीको सहकार्य र सुझावकै आधारमा आगामी दिनमा थप प्रभावकारी परियोजनाहरू अघि सारिनेछ,” मेयरले भनिन्।

झिलिमिली सडकहरूबाट प्रभावित स्थानीय बासिन्दाहरू भने अझ धेरै सुधारको अपेक्षा गरिरहेका छन्। “सडक बत्ती राम्रो छ, तर बजारलाई व्यवस्थित बनाउन पूर्वाधार विकासमा ध्यान दिनुपर्छ। साँघुरो सडक र जामका कारण समस्या अझै समाधान भएको छैन,” एक व्यापारीले भने।

हेटौँडाका सडक अहिले साँच्चै उज्यालोमा चम्किरहेका छन्। यसले नगरको सौन्दर्यमा त वृद्धि गरेको छ, तर आधारभूत पूर्वाधार सुधारतर्फ पनि ध्यान दिनु जरुरी रहेको स्थानीयको धारणा छ। उपमहानगरपालिकाको यो उज्यालो प्रयासले नगरलाई आधुनिक र सुरक्षित बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास छ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img

सिफारिस