काठमाडौं |राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पठाएको भनिएको पत्र आधिकारिक नभएको स्पष्ट पारेको छ।
रास्वपाका विदेश विभाग प्रमुख शिशिर खनालले सामाजिक सञ्जाल र केही सञ्चार माध्यममा सार्वजनिक भएको उक्त पत्र ‘फेक’ भएको दाबी गरेका हुन्। शुक्रबार साँझ सञ्चारकर्मीसँग कुरा गर्दै खनालले पार्टीका तर्फबाट भारत सरकारलाई कुनै पनि प्रकारको लिखित पत्र नपठाइएको स्पष्ट गरे।
“मैले भर्खरै मात्र त्यो पत्रबारे जानकारी पाएँ। त्यसप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ। त्यो पत्र फेक हो। हाम्रो पार्टीबाट त्यस्तो कुनै पत्र गएको छैन,” खनालले भने।
खनालले भारतीय गणतन्त्र दिवसका अवसरमा नेपालस्थित भारतीय दूतावासले आयोजना गरेको कार्यक्रममा आफू र उपसभापति डीपी अर्याल सहभागी भएको स्वीकार गरे। तर त्यस बाहेक पार्टीका तर्फबाट कुनै औपचारिक पत्राचार नभएको उनले दोहोर्याए।
रास्वपाले चुनाव नजिकिँदै गर्दा पार्टीविरुद्ध योजनाबद्ध रूपमा भ्रम फैलाउने प्रयास भइरहेको आरोप लगाएको छ। खनालका अनुसार हारको मानसिकताले अत्तालिएका केही शक्तिहरूले रास्वपाको छवि धुमिल बनाउन यस्तो सामग्री सार्वजनिक गरेको हुन सक्छ।
यस विषयमा पार्टीले आधिकारिक लिखित धारणा सार्वजनिक गर्ने तयारी गरिरहेको उनले जानकारी दिए।
रास्वपाकी सहप्रवक्ता प्रतिभा रावलले पनि भारतलाई पठाइएको भनिएको पत्र सत्य नभएको बताएकी छन्। पार्टीले त्यस्तो कुनै पत्र नलेखेको उनको भनाइ छ।
के थियो सार्वजनिक पत्रमा?
सार्वजनिक भएको पत्रमा रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को नाम उल्लेख गर्दै भारतको ७७ औँ गणतन्त्र दिवसका अवसरमा प्रधानमन्त्री मोदीलाई सम्बोधन गरिएको दाबी गरिएको थियो। पत्रमा नेपाल–भारत सम्बन्ध, नेपालको संविधान र संघीयता संशोधनसँग सम्बन्धित संवेदनशील विषयहरू समावेश गरिएको बताइएको छ।
तर रास्वपाले उक्त पत्र पूर्णतः असत्य र भ्रामक भएको दाबी गर्दै त्यसबारे आधिकारिक स्पष्टिकरण दिने जनाएको छ।



