Wednesday, January 15, 2025
हेडलाईनउपनिर्वाचनमा ६२ प्रतिशत मत खस्यो, सबैभन्दा कम काठमाडौं १६ मा

उपनिर्वाचनमा ६२ प्रतिशत मत खस्यो, सबैभन्दा कम काठमाडौं १६ मा

काठमाडौं । रिक्त रहेका स्थानीय तहका विभिन्न पदका लागि मंसिर १६ गते सम्पन्न उपनिर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएको छ। निर्वाचन आयोगका अनुसार नगरपालिकाका प्रमुख, उपप्रमुख, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, र वडा अध्यक्ष गरी ४१ स्थानमा मतदान भएको हो। यस उपनिर्वाचनमा कुल ६२ प्रतिशत मत खसेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिएका छन्।

मत खसाउने प्रतिशतको आधारमा सबैभन्दा धेरै डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर ५ मा खसेको छ। त्यहाँ स्थानीयवासीले उत्साहजनक सहभागिता जनाउँदै उच्च मतदान प्रतिशत पुर्‍याएका थिए। तर काठमाडौं महानगरपालिका वडा नम्बर १६ मा भने अपेक्षाकृत कम मत खसेको छ। स्थानीय निर्वाचनका लागि राजधानी क्षेत्रका मतदाताको चासो कम भएको देखिएको आयोगले उल्लेख गरेको छ।

त्यस्तै, मकवानपुर जिल्लाका दुई मतदान केन्द्रमा खसेको मतको विवरणअनुसार कुल ८,०५३ मतदातामध्ये ५,४८२ जनाले मतदान गरेका छन्। बिष्णु ज्योति आधारभूत विद्यालयमा ३,६२५ मतदाता रहेकोमा २,४७४ जनाले मतदान गरे। तीमध्ये १,१८३ पुरुष र १,२९१ महिला रहेका छन्। यस मतदान केन्द्रमा ६८.२४ प्रतिशत मतदान भएको छ। यस्तै, प्रतिभा माध्यमिक विद्यालयमा ४,४२८ मतदाता रहेकोमा ३,००८ जनाले मतदान गरेका छन्। तीमध्ये १,३७२ पुरुष, १,६३५ महिला र अन्य १ जनाले आफ्नो मताधिकार प्रयोग गरेका छन्। यो मतदान केन्द्रमा ६७.९० प्रतिशत मतदान भएको छ। दुबै केन्द्रको औसत मतदान प्रतिशत ६८.०७ रहेको छ।

एक सय दुई वर्षका गोविन्द लामिछानेले मतदान

स्थानीय तह उपनिर्वाचनअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१२ का एक सय दुई वर्षका गोविन्द लामिछानेले मतदान गरेका छन् । आज वडाध्यक्ष पदका लागि भएको मतदानमा उनी सहभागी भएका हुन् । उनले वडाको भोर्लेस्थित विष्णुज्योति आधारभूत विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

निर्वाचन आयोगले उपनिर्वाचनमा सहभागी सबै मतदान केन्द्रमा शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएको बताएको छ। आयोगले प्रारम्भिक रूपमा ६२ प्रतिशत मत खसेको जनाएको भए पनि आधिकारिक जानकारी मतगणना सम्पन्न भएपछि मात्र सार्वजनिक गरिनेछ। मतगणनाको तयारी पूरा भएको र केही स्थानमा मतगणना सुरु भइसकेको जानकारी प्राप्त भएको छ।

उपनिर्वाचनका क्रममा स्थानीय जनतामा मिश्रित प्रतिक्रिया देखिएको छ। ग्रामीण क्षेत्रमा मतदानको उत्साह अधिक देखिए पनि शहरी क्षेत्रमा, विशेष गरी काठमाडौं महानगरको केही वडामा सहभागिता अपेक्षा अनुसारको नभएको देखिएको छ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img