अर्थ व्यापारदसैं–तिहारमा बजार महँगिने संकेत

दसैं–तिहारमा बजार महँगिने संकेत

हेटौँडा | मनसुनजन्य विपत्तिका कारण उत्तरी नाकाबाट सामान आपूर्ति अवरुद्ध हुँदा आसन्न दसैं–तिहारमा नेपाली उपभोक्ताले महँगो मूल्य तिर्नुपर्ने अवस्था देखिएको छ।

बाढी र पहिरोका कारण चीनसँग जोडिएका दुई प्रमुख व्यापारिक नाका तातोपानी र रसुवागढी लामो समयदेखि ठप्प छन्। दुवै नाका अवरुद्ध हुँदा करिब ४ सय कन्टेनर बराबरका लत्ताकपडा, जुत्ता, स्याउ, ओखर, लसुन, ड्राइ फ्रुट्सदेखि इलेक्ट्रोनिक सामग्रीसम्म चीनतर्फ अलपत्र परेको व्यवसायीहरूको भनाइ छ।

व्यवसायीहरूका अनुसार यी सामान विशेषगरी दसैं–तिहार लक्षित गरेर अर्डर गरिएका थिए। तर लामो समयदेखि रोकिँदा नाफाभन्दा बढी क्षति हुने देखिएको छ। स्याउ र लसुनजस्ता चाँडै नष्ट हुने वस्तु कुहिने सम्भावना छ भने कपडा र जुत्तामा ढुसी पलाउने अवस्था पुगेको गुनासो छ।

नेपाल हिमालय सीमापार वाणिज्य संघका महासचिव रामचन्द्र पराजुलीका अनुसार अबको १०–१५ दिनभित्र सामान नेपाल प्रवेश नगरे बजारमा अभाव हुने निश्चित छ। अभाव बढेसँगै कालोबजारी हुने र उपभोक्ताले सामान्य वस्तु पनि अस्वाभाविक मूल्यमा किन्नुपर्ने अवस्था आउन सक्ने उनको भनाइ छ।

तातोपानी नाका केही दिन खुले पनि फेरि पहिरोले अवरुद्ध भएको छ। रसुवागढी नाका त अझै महिनौंदेखि बन्द छ। रसुवा भन्सार कार्यालयका अधिकारीहरूका अनुसार दसैंअघि नाका सञ्चालन हुने सम्भावना अत्यन्तै न्यून छ।

नाकामा अवरोधका कारण केही व्यापारीले जोखिम मोलेर भरियामार्फत सामान ल्याउने प्रयास गरेका छन्। तर ढुवानी खर्च बढ्ने भएकाले स्याउजस्तो सामान्य वस्तुको मूल्य पनि दोब्बरभन्दा बढी पर्न सक्ने देखिन्छ।

नेपाल चेम्बर अफ कमर्सलगायत व्यवसायिक संघ–संस्थाले सरकारलाई वैकल्पिक नाका तत्काल सञ्चालनमा ल्याउन आग्रह गरेका छन्। उनीहरूको भनाइमा दसैं–तिहारमा मात्र होइन, हरेक वर्षको मनसुनयाममा पुनःपुनः देखिने समस्याको दीर्घकालीन समाधान आवश्यक छ।

समुद्रपार निकासी पैठारी संघका महासचिव जयन्तकुमार अग्रवालका अनुसार मुस्ताङजस्ता वैकल्पिक नाकाको सम्झौता दशकअगाडि भए पनि अझै सञ्चालनमा आएको छैन। उनका अनुसार अहिलेको अवस्थामा अस्थायी पुल निर्माण वा अन्य आपतकालीन उपाय खोजेर भए पनि सामान भित्र्याउन सरकार सक्रिय हुनुपर्ने देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img