विराटनगर । उदयपुरको कटारी बजारमा किसानलाई वितरण गर्न पठाइएको अनुदानको २ सय बोरा रासायनिक मल व्यापारीको गोदाममा लुकाइएको अवस्थामा फेला परेको छ।
जिल्ला प्रशासन कार्यालय उदयपुरको बजार अनुगमन टोलीले बिहीबार बिहान व्यापारी दिलिप चौधरीले सञ्चालन गरेको आशुतोष ट्रेडर्स एण्ड जेनरल स्टोर्सको गोदाममा लुकाइएका मलका बोरा बरामद गरेको हो।
अनुगमन टोलीका नेतृत्वकर्ता सहायक प्रमुख जिल्ला अधिकारी विक्रम प्रसाद पाण्डेले गोदाम तत्काल शिलबन्दी गरिएको र घटनाबारे छानबिन अघि बढाइएको जानकारी दिए। “कहाँबाट मल आएको हो ? यसमा कसको मिलेमतो छ भन्नेबारे पूर्ण छानबिन हुन्छ। आवश्यक कारबाहीका लागि कटारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिइएको छ,” पाण्डेले बताए।
कटारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन थापाले संलग्नहरूविरुद्ध कारबाही गर्न आजै छानबिन समिति गठन गरिने जानकारी दिए।
कृषकहरूले लामो समयदेखि कटारी बजारमा रासायनिक मलको अभाव देखिएको र व्यापारीहरूले कालोबजारी गर्दै आएको आरोप लगाउँदै आएका छन्। किसान माधव धमलाले भने, “सरकारले सहजै मल उपलब्ध गराउने नीति ल्याए पनि व्यापारीहरूले बीचमै रोक्केर महँगोमा बेच्दै आएका छन्,” टिप्पणी गरे।
सरकारले सहकारीमार्फत मल वितरण गर्ने व्यवस्था गरेको भए पनि अनुदानको मल व्यापारीको गोदाममा फेला पर्नुले वितरण प्रणालीमै अनियमितता भएको देखिएको छ।
अनुगमनका क्रममा टोलीले कटारी बजारका २८ पसल परीक्षण गर्दा करिब १ लाख २० हजार रुपैयाँ बराबरको अखाद्य तथा म्याद गुज्रिएका चामल, मसला, पेय पदार्थ, सुर्ती लगायतका सामान जफत गरी तत्काल नष्ट गरिएको इलाका प्रशासन कार्यालय कटारीकी प्रमुख कोपिला थुलुङ राईले बताइन्।
त्यसैगरी कानुनविपरीत व्यापार गरेको आरोपमा अञ्जली पाउरोटी उद्योग, रञ्जना स्टोर्स र कमलामाई बेकरीलाई जनही ५ हजार रुपैयाँ जरिवाना गरिएको छ।



