हेटौँडा । मकवानपुरमा चालु आर्थिक वर्ष २०८२/८३ को जेठ २१ गतेसम्म ३०५ जना हराएका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरअन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेलको तथ्याङ्कअनुसार हराएकामध्ये २८१ जना फेला परेका छन् भने २४ जना अझै फेला पर्न बाँकी छन्।
चालु आर्थिक वर्षको बैशाख मसान्तसम्म २७३ जना हराएका थिए। तीमध्ये २५९ जना फेला परेका थिए भने १४ जना फेला पर्न बाँकी थिए। तर जेठ महिनाको २१ दिनमै थप ३२ जना हराएपछि कुल संख्या ३०५ पुगेको हो। जेठमा मात्रै हराएका ३२ जनामध्ये २२ जना फेला परेका छन् भने १० जना अझै सम्पर्कबाहिर छन्।
जेठ २१ गतेसम्म हराउनेमा ५१ जना पुरुष, १४२ जना महिला, २३ जना बालक, ७४ जना बालिका र १५ जना ज्येष्ठ नागरिक रहेका छन्। तीमध्ये ४५ जना पुरुष, १३४ जना महिला, २१ जना बालक, ६८ जना बालिका र १३ जना ज्येष्ठ नागरिक फेला परिसकेका छन्। अझै फेला पर्न बाँकीमध्ये ६ जना पुरुष, ८ जना महिला, २ जना बालक, ६ जना बालिका र २ जना ज्येष्ठ नागरिक छन्।
महिनागत रूपमा हेर्दा सबैभन्दा धेरै बैशाखमा ४२ जना हराएका छन्। साउन र चैतमा समान ३४/३४ जना, भदौ र पुसमा ३१/३१ जना, मंसिरमा २५ जना, फागुनमा २१ जना, कात्तिक र माघमा १९/१९ जना तथा असोजमा १७ जना हराएको तथ्याङ्क छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी माधव प्रसाद काफ्लेले हराएको निवेदन आएपछि प्रहरीले हुलिया, फोटो, सम्पर्क नम्बर, सम्भावित गन्तव्य र परिवारबाट प्राप्त सूचनाका आधारमा खोजतलास अघि बढाउने बताए। उनका अनुसार कतिपय अवस्थामा परिवारले ढिलो गरी जानकारी दिँदा खोजी कार्यमा कठिनाइ हुने गरेको छ।
काफ्लेले महिला तथा बालिका हराउने घटनामा बालविवाह, किशोरावस्थाको सम्बन्ध, पारिवारिक असमझदारी, साथीभाइको प्रभाव वा घरपरिवारलाई जानकारी नदिई हिँड्ने प्रवृत्ति देखिने गरेको बताए। तर सबै घटनालाई आपराधिक दृष्टिले मात्र हेर्न नहुने उनको भनाइ छ।
प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले मानिस हराउने विषय गम्भीर भएको बताए। उनले हराएको थाहा पाउनेबित्तिकै फोटो, पहिचान खुल्ने विवरण र अन्तिम पटक देखिएको स्थानसहित नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन आग्रह गरे। उनका अनुसार सामाजिक सञ्जालमा सूचना राख्नु उपयोगी भए पनि सबैभन्दा पहिले सुरक्षा निकायलाई जानकारी गराउनु आवश्यक छ।



