बागमती प्रदेशमकवानपुरपर्यटन पूर्वाधार बढ्दै, वन्यजन्तुको त्रासमा मनहरीका बस्ती

पर्यटन पूर्वाधार बढ्दै, वन्यजन्तुको त्रासमा मनहरीका बस्ती

हेटौँडा । मनहरी गाउँपालिकामा धार्मिक तथा पर्यटकीय पूर्वाधार निर्माणले गति लिए पनि मध्यवर्ती क्षेत्रका बस्तीमा वन्यजन्तुबाट हुने क्षति स्थानीयको मुख्य समस्या बनेको छ । विकासका योजनासँगै वन्यजन्तुबाट खेतीबाली जोगाउन नसकेको गुनासो आइतबार भएको स्थलगत अवलोकन तथा अन्तर्क्रियामा स्थानीयले उठाएका हुन् ।

मनहरी गाउँपालिकाको समन्वय र नेपाल पत्रकार महासंघ मकवानपुरको व्यवस्थापनमा भएको स्थलगत अवलोकनका क्रममा सञ्चारकर्मीको टोलीले गाउँपालिकाका विभिन्न विकास योजनाको अवलोकन गरेको थियो । टोलीले मनहरी–८ मा निर्माणाधीन ६५ फिट अग्लो गौतम बुद्धको स्तूप, पिस पार्क, आमा घर, पोखरी, ध्यान केन्द्र, ऋषेश्वर मन्दिर, देउकोट भ्यूटावर तथा मनहरी–१ का बस्ती र पूर्वाधार क्षेत्रको अवलोकन गरेको थियो ।

अवलोकनका क्रममा गाउँपालिकाले पर्यटन, स्वास्थ्य, शिक्षा, कृषि र सडक पूर्वाधारमा काम अघि बढाइरहेको जानकारी गराइएको थियो । तर, मध्यवर्ती क्षेत्रका स्थानीयले भने बाँदर, बँदेल, मृग, खरायोलगायतका वन्यजन्तुबाट खेतीबाली जोगाउन कठिन भएको गुनासो गरेका छन् ।

स्थानीय सावित्री पौडेलले दिनभर बाँदर धपाएर बस्नुपर्ने र राति अन्य वन्यजन्तु खेतबारीमा पस्ने गरेको बताइन् । “मकै, सिमी, केराउ जोगाउनै गाह्रो छ । हामीलाई त कि सुरक्षित ठाउँमा सार्नुपर्‍यो, कि वन्यजन्तु रोक्ने व्यवस्था गर्नुपर्‍यो,” उनले भनिन् ।

स्थानीयको गुनासोबीच गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले मनहरीलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने गरी योजना अघि बढाइएको बताए । उनका अनुसार मनहरी–८ मा निर्माणाधीन बुद्ध स्तूपमा गाउँपालिकाले १ करोड ६ लाख रुपैयाँ लगानी गरेको छ । सिँढी तथा अन्य संरचनाका लागि प्रदेश सरकारबाट करिब ३३ लाख रुपैयाँ विनियोजन भएको उनले जानकारी दिए ।

कालाखेतीले बुद्ध स्तूप निर्माण अन्तिम चरणमा पुगेको बताए । दुई–तीन महिनाभित्र उद्घाटन गर्ने तयारी रहेको उनको भनाइ छ । स्तूपसँगै आसपासका धार्मिक तथा पर्यटकीय क्षेत्रलाई जोडेर मनहरी–८ लाई पर्यटन क्षेत्रका रूपमा विकास गर्ने लक्ष्य रहेको उनले बताए ।

गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा पनि काम अघि बढाएको छ । अध्यक्ष कालाखेतीका अनुसार मनहरी अस्पतालको भवन निर्माण अन्तिम चरणमा पुगेको छ । हाल मनहरीमा ५ जना एमबीबीएस चिकित्सकमार्फत दैनिक ५ सयदेखि ६ सय बिरामीले सेवा लिइरहेका छन् ।

कृषितर्फ बाली बीमा, दूध भुक्तानी व्यवस्थापन र कोल्ड स्टोरेज निर्माणलाई प्राथमिकतामा राखिएको उनले बताए । नियमित भुक्तानीको व्यवस्था भएपछि दैनिक करिब ५ हजार लिटर संकलन हुने दूध अहिले १५ हजार लिटरसम्म पुगेको उनले जानकारी दिए ।

मनहरी–१ का वडा अध्यक्ष शिवप्रसाद खनालले आफ्नो करिब ९ वर्षे कार्यकालमा सडक, शिक्षा, स्वास्थ्य, खानेपानी र सिँचाइमा परिवर्तन आएको बताए । उनका अनुसार वडामा करिब ९ सय मिटर आस्फाल्ट पिच र करिब ५ किलोमिटर ढलान सडक निर्माण भएको छ । मुहानको पानी नपुग्ने ठाउँमा १४/१५ स्थानमा डिप बोरिङमार्फत सिँचाइको व्यवस्था गरिएको उनले जानकारी दिए ।

गाउँपालिका अध्यक्ष कालाखेतीले मध्यवर्ती क्षेत्रका कारण विकास निर्माणमा केही जटिलता देखिएको स्वीकार गरे । निकुञ्ज प्रशासनसँग समन्वय गरेर सहजीकरण भइरहेको उनको भनाइ छ । पुराना बस्ती, विद्यालय र स्वास्थ्य चौकी रहेको क्षेत्रमा जनताको पक्षमा गाउँपालिका उभिने तर नयाँ अतिक्रमण रोक्ने उनले बताए ।

वडा अध्यक्ष खनालले वन्यजन्तुबाट भएको क्षतिमा कार्यविधिअनुसार क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था रहेको बताए । स्थानीय समस्या समाधानका लागि वडा कार्यालयले सहजीकरण गरिरहेको उनले जानकारी दिए ।

पर्यटन पूर्वाधारमा गाउँपालिकाको लगानी बढ्दै गए पनि मध्यवर्ती क्षेत्रका स्थानीयको दैनिक जीवन भने वन्यजन्तुको त्रास र खेतीबाली क्षतिको समस्याबाट प्रभावित छ । विकाससँगै स्थानीयको सुरक्षालाई पनि प्राथमिकतामा राख्नुपर्ने आवश्यकता देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img