हेटौँडा । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत सञ्चालित हेटौँडा अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्यांकनमा सेकेण्डरी ‘बी’ तहका अस्पतालमध्ये देशकै प्रथम भएको छ। न्यूनतम सेवा मापदण्ड नेपालको तथ्यांकअनुसार देशभर रहेका ६० वटा सेकेण्डरी ‘बी’ अस्पतालमध्ये हेटौँडा अस्पतालले ९५ प्रतिशत अंक प्राप्त गर्दै प्रथम स्थान हासिल गरेको हो।
न्यूनतम सेवा मापदण्ड अस्पतालले आफ्नो तहअनुसार दिनुपर्ने सेवा, उपचार सुविधा, व्यवस्थापन, पूर्वाधार, जनशक्ति, उपकरण र सहयोगी सेवाको अवस्था मापन गर्ने सरकारी मूल्यांकन प्रणाली हो। यसमा सबै अस्पताललाई एउटै समूहमा नराखी प्राथमिक, सेकेण्डरी ‘ए’, सेकेण्डरी ‘बी’, टर्सरी र विशेषज्ञ अस्पतालका रूपमा वर्गीकरण गरेर मूल्यांकन गरिन्छ।
न्यूनतम सेवा मापदण्ड नेपालको तथ्यांकअनुसार देशभर प्राथमिक तहका ४७६ वटा अस्पताल छन् भने सेकेण्डरी ‘बी’ तहका अस्पतालको संख्या ६० छ। बागमती प्रदेशमा भने हेटौँडा अस्पतालसहित सेकेण्डरी ‘बी’ तहका ६ वटा अस्पताल छन्।
हेटौँडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रामचन्द्र सापकोटाका अनुसार हेटौँडा अस्पताल वीर अस्पताल, भरतपुर अस्पताल वा त्रिवि शिक्षण अस्पतालजस्ता टर्सरी अस्पतालसँग प्रतिस्पर्धा गरेर प्रथम भएको होइन। उनले हेटौँडा अस्पताल सेकेण्डरी ‘बी’ तहका अस्पतालहरूको मापदण्डभित्र गरिएको मूल्यांकनमा देशभरमै उत्कृष्ट देखिएको बताए।
सेकेण्डरी ‘बी’ अस्पतालको मूल्यांकन तीन मुख्य आधारमा गरिन्छ। अस्पतालको शासन तथा व्यवस्थापनमा २० प्रतिशत, उपचार सेवासँग सम्बन्धित क्लिनिकल सेवा व्यवस्थापनमा ६० प्रतिशत र सरसफाइ, फोहर व्यवस्थापन, विद्युत्, पानी, सुरक्षा, क्यान्टिन, स्टोरलगायत सहयोगी सेवामा २० प्रतिशत अंकभार हुन्छ। यी सबै पक्षको भारित औसतका आधारमा अस्पतालको अन्तिम अंक निर्धारण हुन्छ।
डा. सापकोटाले न्यूनतम सेवा मापदण्डमा उच्च अंक प्राप्त गर्नु अस्पतालले तोकिएको मापदण्डअनुसार सेवा सुधार गर्दै गएको संकेत भएको बताए। उनका अनुसार यो उपलब्धिलाई सबै तहका अस्पतालसँगको प्रतिस्पर्धाका रूपमा नभई सेकेण्डरी ‘बी’ तहभित्रको उत्कृष्ट नतिजाका रूपमा बुझ्नुपर्छ।
हेटौँडा अस्पतालले पछिल्लो समय आकस्मिक सेवा, शल्यक्रिया सेवा, सघन उपचार सेवा, विशेषज्ञ सेवा, प्रयोगशाला सेवा तथा अन्य उपचार सेवा विस्तार गर्दै आएको छ। अस्पताल प्रशासनले यो उपलब्धिलाई सेवा सुधारको परिणाम र आगामी दिनमा थप गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्ने जिम्मेवारीका रूपमा लिएको जनाएको छ।



