हेटौँडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले रुग्ण अवस्थामा रहेको हेटौँडा कपडा उद्योग यसै वर्ष सञ्चालनमा ल्याइने बताएकी छन् । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत उद्योग मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले हेटौँडा कपडा उद्योग सञ्चालनलाई प्राथमिकतामा राखिएको जानकारी दिइन् ।
मन्त्री कुमारीका अनुसार हेटौँडा कपडा उद्योगसँगै बुटवल धागो उद्योग सञ्चालनका लागि पनि आवश्यक तयारी भइरहेको छ । लामो समयदेखि बन्द तथा रुग्ण अवस्थामा रहेका यी उद्योगलाई पुनः सञ्चालनमा ल्याउने विषय सरकारको प्राथमिकतामा रहेको उनले बताइन् । उद्योग सञ्चालनलाई उत्पादनसँग मात्र नभई कच्चा पदार्थ व्यवस्थापनसँग पनि जोडेर अघि बढाउनुपर्नेमा उनले जोड दिइन् ।
उनले कपडा उद्योग, धागो उद्योग र कपासखेतीलाई एकैसाथ अघि बढाउनुपर्ने बताइन् । कपडा उत्पादनका लागि आवश्यक धागो र धागो उत्पादनका लागि आवश्यक कपासखेतीलाई समन्वय गरेर अगाडि बढाउँदा उद्योग दिगो रूपमा सञ्चालन गर्न सकिने उनको भनाइ छ । “रुग्ण उद्योगका रुपमा रहेको हेटौँडा कपडा उद्योग सबैभन्दा पहिला सञ्चालनमा आउँछ । कपडा र धागो उद्योग तथा कपासखेती एकैसाथ अगाडि बढाउनुपर्छ । यी उद्योग यही वर्ष सञ्चालनमा आउँछन्,” मन्त्री कुमारीले भनिन् ।
मन्त्री कुमारीले उद्योग क्षेत्रलाई उत्पादनमुखी बनाउने सरकारको लक्ष्यअनुसार रुग्ण उद्योग पुनः सञ्चालनको तयारी अघि बढाइएको बताइन् । उनले पेट्रोलियम पदार्थमा इथानोल मिसावट गर्ने कार्यसमेत अघि बढिसकेको जानकारी दिइन् । छलफलका क्रममा सांसदहरूले रुग्ण उद्योग, स्वदेशी उत्पादन, रोजगारी सिर्जना र आयात प्रतिस्थापनका विषयमा मन्त्रालयको स्पष्ट योजना आवश्यक रहेको धारणा राखेका थिए ।



