हेटौँडा | मकवानपुरको हेटौँडा स्वास्थ्य शिक्षाको केन्द्रका रूपमा अघि बढ्दै गएको छ। चिकित्सा शिक्षा आयोगले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई यसै शैक्षिक सत्रदेखि एमबीबीएस पढाइ सुरु गर्न ५० सिट स्वीकृति दिएको छ।
प्रतिष्ठानमा यसअघि नै विभिन्न स्नातक तहका कार्यक्रम सञ्चालनमा छन्। बीएस्सी नर्सिङ कार्यक्रम यस वर्ष २० सिटबाट बढाएर ३० सिट पुर्याइएको छ। मेडिकल ल्याब टेक्नोलोजी र पब्लिक हेल्थ कार्यक्रम २०–२० सिटमै यथावत छन्। ब्याचलर अफ फार्मेसी कार्यक्रम पनि ३० सिटकै संरचनामा निरन्तर सञ्चालन हुँदै आएको छ।
स्नातक तहसँगै, प्रतिष्ठानले यस वर्ष स्नातकोत्तर तहमा पनि नयाँ उपलब्धि हासिल गरेको छ। एमडी अध्ययन सात विषयमा सुरु हुने भएको छ, जसमा कुल ८ सिट स्वीकृत छन्। स्त्री तथा प्रसूति विभागमा २ सिट, फिजिसियन, जनरल सर्जरी, बालरोग, हाडजोर्नी तथा नशारोग, फेमिली फिजिसियन र एनेस्थेसियोलोजीमा एक–एक सिट रहनेछ।
प्रतिष्ठानका उपकुलपति डा. प्रदिप ज्ञवालीका अनुसार हेटौँडा अस्पतालमा दैनिक १ हजार ५ सयभन्दा बढी बिरामीले उपचार सेवा लिइरहेका छन्। उपचारका लागि छिमेकी प्रदेशका बिरामी पनि आउने गरेको उनले बताए।
२०७६ सालमा प्रदेशसभाबाट ऐन जारी गरी स्थापित प्रतिष्ठानमा २०७७ साउन १५ गते उपकुलपति र भदौ १५ गते अन्य पदाधिकारी नियुक्त भई औपचारिक कार्य प्रारम्भ गरिएको हो।



