हेटौँडा | बागमती प्रदेश सरकारका पाँच सचिव एकैपटक फेरिएका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार गरेको सरुवा निर्णयसँगै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, आर्थिक मामिला तथा योजना, सामाजिक विकास, भौतिक पूर्वाधार विकास र खानेपानी, उर्जा तथा सिंचाई मन्त्रालयका सचिवहरू अन्य निकायमा पठाइएका छन्।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव उदयबहादुर राना मगर प्रधानमन्त्री कार्यालयमा सरुवा भएका छन्। २०८१ फागुनमा मात्रै बागमती आएका उनी करिब पन्ध्र महिनामै पुनः संघीय तहमा फर्किएका हुन्। आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव कृष्णप्रसाद मैनाली संघीय संचार तथा सूचना प्रविधि मन्त्रालयमा गएका छन्। उनी करिब डेढ वर्षदेखि बागमतीमा कार्यरत थिए। सामाजिक विकास मन्त्रालयकी सचिव विनु बज्राचार्य गृह मन्त्रालयमा पठाइएको छ। गत फागुनमा मात्र बागमती आएकी उनी पाँच महिनामै फेरि संघीय मन्त्रालय फर्किएकी हुन्। भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव अमृत श्रेष्ठ सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पुगेका छन् भने खानेपानी, उर्जा तथा सिंचाई मन्त्रालयका सचिव मोहन शाक्य कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा भएका छन्।
यससँगै बागमतीमा चार नयाँ सचिव आउने भएका छन्। मध्यमस्तरीय करदाता कार्यालय काठमाडौंमा कार्यरत पार्वती शर्मा, लुम्बिनी प्रदेशको युवा तथा खेलकुद मन्त्रालयमा रहेका बलराम ढकाल, कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका इन्द्रदेव भट्ट र भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय कर्णालीका इश्वरचन्द्र मरठ्ठा अब बागमतीमा सचिवका रूपमा जिम्मेवारी सम्हाल्ने छन्।
सचिवहरूको यस्तो आवत–जावत प्रदेशको नीति निर्माणदेखि दैनिक प्रशासनिक प्रक्रियामा असर पार्ने भएकाले यसलाई यहाँका जनप्रतिनिधि र नागरिकले नजिकैबाट हेरिरहेका छन्। बारम्बार हुने सरुवाले योजनाको निरन्तरता टुट्ने र कामको गतिमा कमी आउने चिन्ता गरिएको छ भने केहीले नयाँ नेतृत्वसँग नयाँ ऊर्जा र शैली आउने आशा राखेका छन्।



