नयाँ दिल्ली । अयोध्यामा राममन्दिरमा हुने प्राण प्रतिष्ठाको दिन जनवरी २२ (८ माघ) सोमबार भारतले आधा दिन आधा दिन छुट्टी दिने भएको छ । केन्द्र सरकारले देशभर नै केन्द्रीय कार्यालय, संस्थान, औद्योगिक प्रतिष्ठानमा आधा दिनको छुट्टी दिने घोषणा गरेको छ ।
त्यो दिनमा २ बजेसम्म मात्रै सरकारी कार्यालय खुला रहनेछन् । उत्तर प्रदेशले भने सो दिन प्रदेशभर नै मासु, माछा, रक्सीको बिक्रीमा पूरै बन्देज लगाउने भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदी, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र अन्य चर्चित व्यक्तिको उपस्थितिमा प्राण प्रतिष्ठा हुँदैछ । हजारौँ अतिथिलाई निम्तो पठाइएको छ । कार्यक्रममा बलिउडका सेलिब्रेटी, क्रिकेटर, उद्योगी र व्यापारीसमेत ७ हजारभन्दा धेरै अतिथि उपस्थित हुने बताइएको छ । मोदीले सन् २०२० अगस्ट ५ मा राम मन्दिरको जग पूजा गरेका थिए ।
अयोध्यामा कहिले के भयो ?
अयोध्यामा हिन्दुहरूले भगवान् रामको जन्मस्थान रहेको मान्छन् । सो स्थानमा सन् १५२८ मस्जिदको निर्माण भएको थियो । सन् १८५३ मा सो स्थानमा पहिलो पटक धार्मिक हिंसा भएको थियो । सन् १८५९ मा उपनिवेशकालीन ब्रिटिस शासकद्वारा तारबार निर्माण गरिएको थियो । भित्री स्थलमा मुस्लिमलाई प्रार्थना अनि बाहिरी भेगमा हिन्दूलाई पूजा गर्न स्वीकृति दिने गरी व्यवस्थापन भएको थियो । सन् १९४९ मा मस्जिदभित्र भगवान् रामका मूर्ति देखा परेका थिए । हिन्दुले ती मूर्ति राखिदिएको आशङ्काका माझ मुस्लिमले विरोध गरेका थिए । दुवै पक्षले अदालतमा मुद्दा हालेका थिए । सरकारले उक्त स्थान विवादित भन्दै ढोका बन्द गरिदिएको थियो ।
सन् १९८४ मा विश्व हिन्दू परिषद्को अगुवाइमा रामको जन्मस्थानलाई ‘मुक्त’ गर्न भन्दै समिति गठन गरिएको थियो । भारतीय जनता पार्टीका तत्कालीन नेता लालकृष्ण आडवाणीले अभियानको नेतृत्व गरेका थिए । सन् १९८६ मा जिल्ला न्यायाधीशद्वारा विवादित मस्जिदको ढोका खोलेर हिन्दुहरूलाई पूजा गर्न अनुमति प्रदान गरिएको थियो । मुस्लिमको विरोधका निम्ति बाबरी मस्जिद एक्सन कमिटी गठन गठन भएको थियो । सन् १९८९ मा विश्व हिन्दू परिषद्को अभियान तीव्र भयो । विवादित मस्जिदसँगको भूमिमा राम मन्दिरको जग निर्माण भयो ।
सन् १९९० मा परिषद्का कार्यकर्ताद्वारा मस्जिदमा आंशिक क्षति गरियो । विवादको वार्ताद्वारा हल गर्ने तत्कालीन प्रधानमन्त्री चन्द्रशेखरको प्रयास अर्को वर्ष विफल भयो । सन् १९९२ मा विश्व हिन्दू परिषद्, शिवसेना तथा भारतीय जनता पार्टीका समर्थकले बाबरी मस्जिद ध्वस्त बनाएका थिए । लगत्तै देशभरि फैलिएको हिन्दू–मुस्लिम दङ्गामा दुई हजारभन्दा धेरै मानिसको मृत्यु भयो । सन् १९९८ मा प्रधानमन्त्री अटल बिहारी वाजपेयीको नेतृत्वमा भारतीय जनता पार्टीको गठबन्धन सरकार निर्माण भयो । सन् २००२ फेब्रुअरीमा १५ मार्चको समयसीमाभित्र मन्दिर निर्माण थाल्ने विश्व हिन्दू परिषद्को चेतावनी थियो ।
सयौँ स्वयंसेवक अयोध्यामा भेला भए । अयोध्याबाट फर्किरहेका हिन्दू अभियानकर्मी चढेको रेलमा गोधरामा आगजनी हुँदा कम्तीमा ५८ जनाको मृत्यु भयो । सन् २००२ मार्चमा रेलमा भएको आक्रमणपछि पश्चिमी राज्य गुजरातमा दंगा भयो । दङ्गामा अधिकांश मुस्लिमसहित करिब दुई हजार मानिसको मृत्यु भयो ।
सन् २००२ अप्रिलमा सो धार्मिक स्थल कसको स्वामित्वमा छ भन्ने जान्न अदालतमा सुनुवाइ थालनी भयो । सन् २००३ जनवरीमा अदालतको आदेशमा पुरातत्वविद्हरूद्वारा विवादित स्थलमा भगवान् रामको मन्दिर रहे नरहेकोबारे सर्वेक्षण थालनी भयो । सन् २००३ अगस्टमा पुरातात्त्विक सर्वेक्षणमा त्यहाँ मस्जिदमुनि मन्दिर रहेको प्रमाण भेटिएको जानकारी भयो । मुस्लिमद्वारा त्यसको विरोध भयो । हिन्दू अभियानकर्मी रामचन्द्रदास परमहंसको अन्तिम संस्कारका बेला बोल्दै अटलबिहारी वाजपेयीले उनको सपना साकार पार्दै अयोध्यामा राम मन्दिर निर्माण गर्ने वाचा गरे । तर पहिले अदालत तथा वार्ताबाटै समस्याको समाधान निस्कने आशा प्रकट भयो ।
सन् २००३ सेप्टेम्बरमा बाबरी मस्जिद ध्वस्त पार्न उक्साएको आरोपमा सात हिन्दू नेताविरुद्ध मुद्दा चलाउन एक अदालतको आदेश दिइयो । तर त्यतिखेरका उपप्रधानमन्त्री आडवाणीविरुद्ध कुनै अभियोग लगाइएन । सन् २०१० मा इलाहावाद उच्च अदालतद्वारा विवादित जमिनलाई बराबर गरी तीन भागमा बाँडेर मुस्लिम समुदाय, हिन्दू समुदाय र हिन्दू सन्न्यासीको एउटा सम्प्रदाय निर्मोही अखडालाई दिनुपर्ने आदेश आयो । सन् २०११ मा सर्वोच्च अदालतद्वारा उच्च अदालतको फैसला स्थगन भयो । सन् २०१४ मा प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतीय जनता पार्टीको पूर्ण बहुमत सहित सरकार बन्यो । सन् २०१९ नोभेम्बरमा भारतको सर्वोच्च अदालतद्वारा विवादित स्थलमा राम मन्दिर निर्माण गर्न बाटो खुला भयो । सन् २०२० अगस्ट ५ मा विवादित स्थलमा भव्य राम मन्दिर निर्माणको आधारशीला राख्ने साइत तय भयो । त्यसपछि अयोध्यास्थित राम मन्दिरको निर्माण सुरु भएको हो । यही २२ जनवरीमा मन्दिरमा प्राण प्रतिष्ठा गर्न लागिएको हो ।