हेटौँडा | सञ्चारमैत्री बजेट र कानून निर्माणमा प्रदेश सरकारको भुमिका विषयमा अन्तरक्रिया कार्यक्रमसहित नेपाल पत्रकार महासंघ बागमती प्रदेशको दोस्रो प्रादेशिक भेला हेटौंडामा सुरु भएको छ। दुई दिने भेलाको मंगलबार बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले उद्घाटन गरे।
मुख्यमन्त्री लामाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने र आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्ले विशेष अतिथि थिए। कार्यक्रममा बोल्दै मुख्यमन्त्री लामाले लोकतन्त्र र प्रजातन्त्रप्रतिको सरकारको अटुट विश्वास दोहोर्याउँदै पत्रकारिता जनविश्वासको आधार बन्नुपर्नेमा जोड दिए। सत्य, तथ्यपरक र सन्तुलित सूचनाको प्रवाहले जनताको पत्रकारिताप्रतिको भरोसा बलियो बनाउने उल्लेख गर्दै उनले कानुन निर्माणमा गम्भीर सावधानी अपनाउनुपर्ने तर्क गरे। उनले उत्पादनमुखी क्षेत्रमा अपेक्षित लगानी नहुनु सरकारको कमजोरी भएको स्वीकार गरे।
आन्तरिक मामिला तथा कानुन मन्त्री लामिछानेले संघीय संरचनाभित्र प्रदेश सरकारलाई पूर्ण अधिकार नहुनुले कार्यान्वयनमा समस्या आएको भन्दै पत्रकारहरूले वास्तविकता बुझेर जनचेतनामूलक काम गर्नुपर्ने बताए। प्रहरी अधिकारलगायतका धेरै संवैधानिक जिम्मेवारी संघअन्तर्गत भएकाले प्रदेशले बनाएका धेरै कानुन कार्यान्वयनमा जान नसकेको गुनासो पनि उनले व्यक्त गरे।
यस्तै, आर्थिक मामिला तथा योजना मन्त्री काफ्लेले सरकार सधैँ पत्रकारहरूको साथमा रहेको उल्लेख गर्दै खोजमूलक, तथ्यमा आधारित र जनसरोकार केन्द्रित पत्रकारिता विकासमा प्रदेश सरकार सकारात्मक रहेको प्रस्ट पारे। सरकार र सञ्चारमाध्यमबीच सहकार्य अपरिहार्य रहेको धारणा राख्दै उनले सूचना प्रवाहको युगमा पत्रकारको भूमिका अझ जिम्मेवार र संवेदनशील बन्नुपर्ने बताए।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष कृष्ण सारु मगरको अध्यक्षतामा प्रदेश कोष लेखा नियन्त्रक हरी उपाध्यायले लेखा प्रणालीसम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए भने संस्कृति तथा पर्यटन मन्त्रालयका सचिव दीपेन्द्र सुवेदीले प्रदेशको पर्यटन विकास विषयक कार्यपत्र प्रस्तुत गरे। कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, निवर्तमान अध्यक्ष शिव देवकोटा, प्रेस चौतारी बागमतीका अध्यक्ष तिलक रिमाल, प्रेस सेन्टर बागमतीका अध्यक्ष ध्रुव अधिकारी, तथा फोनिज बागमती प्रदेश अध्यक्ष युवराज श्रेष्ठलगायतले मन्तव्य दिएका थिए। कार्यक्रममा बागमती प्रदेशका जिल्ला शाखाका अध्यक्ष, सचिव, कोषाध्यक्षलगायतको उल्लेख्य उपस्थिति थियो।



