हेटौँडा | जेठ १३ — हेटौँडा–४ स्थित नवोदय शिशु सदनले विद्यार्थीहरूको सहभागितामा तीन दिने नमूना संयुक्त राष्ट्रसंघीय महासभा आयोजना गर्ने भएको छ। बुधबार पत्रकार सम्मेलन गरी आयोजक संस्थाले बिहीबारदेखि सुरु हुने उक्त कार्यक्रमको जानकारी गराएको हो।
कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीले सहभागिता जनाउने उक्त महासभामा संयुक्त राष्ट्रसंघको ढाँचामा सात वटा विभिन्न समिति गठन गरिने र समसामयिक अन्तर्राष्ट्रिय मुद्दाहरूमा छलफल गरिने नमूना महासभाका महासचिव निकेश श्रीवास्तवले जानकारी दिए। उनका अनुसार विश्व स्वास्थ्य संगठन (WHO), सुरक्षा परिषद् (UNSC), मानव अधिकार परिषद् (UNHRC), संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (UNDP), अन्तर्राष्ट्रिय श्रम संगठन (ILO), बाल कोष (UNICEF), र वातावरण कार्यक्रम (UNEP) को नमूना ढाँचामा विद्यार्थीले प्रतिनिधित्व गर्नेछन्।
मकवानपुरका तीन विद्यालयसँगै चितवन, नवलपरासी, रौतहट, कास्की र रुपन्देहीका विद्यालयहरूबाट समेत विद्यार्थीको सहभागिता रहनेछ। यस संस्करणमा करिब २५० विद्यार्थी सहभागी हुने आयोजकले जनाएको छ।
नवोदय शिशु सदनले अन्तर्राष्ट्रिय सम्बन्ध, कूटनीति र संयन्त्रबारे बालबालिकामा जागरूकता अभिवृद्धि गर्ने उद्देश्यले पाँचौं संस्करणको नमूना महासभा आयोजना गर्न लागेको हो। कोभिड–१९ को महामारीका बेला दुई पटक भर्चुअल माध्यमबाट आयोजना गरिएको यस महासभालाई यसपटक भौतिक उपस्थितिमा व्यापक बनाइएको छ।