हेटौँडा | लगातारको वर्षापछि अवरुद्ध भएका मकवानपुरका दुई महत्त्वपूर्ण राजमार्ग करिब १४ घण्टापछि सञ्चालनमा आएका छन्।
शुक्रबार राति करिब १० बजेतिर भीमफेदी गाउँपालिका–१, बागझोरा नजिक खसेको ठुलो पहिरो डिभिजन सडक कार्यालय हेटौँडा र नेपाली सेनाको एक्साभेटर प्रयोग गरी हटाएपछि त्रिभुवन राजपथ पूर्ण रूपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।
राजमार्ग अवरुद्ध हुँदा करिब १४ घण्टासम्म दुवै तर्फका सवारीसाधन रोकिएका थिए।
यस्तै, हेटौँडा–ललितपुर जोड्ने कान्ति लोकपथ शनिबार बिहान ११:१५ बजेबाट सञ्चालनमा आएको हो। शुक्रबार साँझ भीमफेदी गाउँपालिका–८, भर्याङडाँडा, बकैया गाउँपालिका–१२, सिमात खोला र जितपुर भञ्ज्याङमा खसेको पहिरो हटाइएपछि सडक खुलाइएको प्रहरीले जनाएको छ।
सडकको माथिल्लो भागबाट ढुङ्गा खस्ने सम्भावना अझै उच्च भएकाले यात्रामा विशेष सतर्कता अपनाउन प्रहरीको आग्रह छ।



