हेटौँडा | हेटौँडा उपमहानगरपालिका–१ राप्ती पुल क्षेत्र यस वर्षको छठ पर्वको तयारीको अन्तिम चरणमा पुगेको छ। सयुक्त मधेश सेवा समाजको आयोजनामा राप्ती नदी किनारमा यस वर्ष भव्य रूपमा छठ मनाउने तयारी भइरहेको छ।
समाजका सचिव राजदेव बनियाँका अनुसार भोली दिउँसो १ देखि २ बजेसम्म व्रतालुहरू आउन थाल्नेछन् र बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ दिने कार्यक्रम हुनेछ।
“पर्सि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर पर्व सम्पन्न गरिनेछ,” उनले भने।
गत वर्ष करिब ११ सय व्रतालु सहभागी भएका थिए भने यस वर्ष ५० देखि ५५ हजार श्रद्धालु आउने अनुमान गरिएको बनियाँले बताए। उनका अनुसार गत वर्षको तुलनामा यस वर्ष कार्यक्रम स्थल विस्तार गरी ६५० फिट क्षेत्रमा सजावट गरिएको छ।
राप्ती नदी किनार अहिले रंगीन बत्ती र विभिन्न सजावटले झकिझकाउ बनेको छ। व्रतालुहरूका लागि टेन्ट, मुख्य प्रवेशद्वार र सहायक गेट तयार पारिएका छन्।
बनियाँका अनुसार हेटौँडा उपमहानगरपालिका र एचएसएमले आर्थिक सहयोग गरेका छन् भने करिब २० वटा व्यापारिक स्टलहरू सञ्चालनमा आउने छन्।
भक्तजनले दान पेटिकामा रकम हाल्ने परम्पराले पनि कार्यक्रम सञ्चालनमा सहयोग पुगेको सचिव बनियाँले जानकारी दिए।
छठ पर्व वैदिक परम्परादेखि चलिआएको सूर्य उपासना पर्व हो। यो पर्वमा चामल, ठेकुवा, कसार, उखु, अदुवा लगायतका प्रसाद बाँसको सुप्पोमा राखी अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिने चलन छ।
महिलाहरू दुःख र दरिद्रताबाट मुक्ति पाइने विश्वासका साथ यो पर्वमा व्रत बस्ने गर्छन्।



