Sunday, February 16, 2025
बागमती प्रदेशमकवानपुरमउवा संघ: ८ सल्लाहकार र अध्यक्ष सल्लाहकार चयन, कार्यसमिति सदस्यमा कृष्णप्रसाद घिमिरे

मउवा संघ: ८ सल्लाहकार र अध्यक्ष सल्लाहकार चयन, कार्यसमिति सदस्यमा कृष्णप्रसाद घिमिरे

हेटौंडा | मकवानपुर उद्योग वाणिज्य संघ (मउवा संघ)को सोमबार बसेको कार्यसमिति बैठकले कृष्णप्रसाद घिमिरेलाई कार्यसमिति सदस्यमा मनोनित गरेको छ। हालै सम्पन्न अधिवेशनबाट चयन भएको नयाँ कार्यसमितिले घिमिरेलाई कार्यसमिति सदस्यमा मनोनित गर्ने निर्णय गर्दै संघको पहिलो औपचारिक बैठक सम्पन्न गरेको हो।

संघको मनोनित सदस्यतर्फ महिला कोटामा अझै एक स्थान रिक्त रहेको जनाइएको छ। यस्तै, संघले ८ जनालाई सल्लाहकारमा मनोनित गरेको छ। सल्लाहकारमा आनन्दराम पराजुली, सरोज खनाल, सन्तोषकुमार अर्याल, नरेन्द्र भण्डारी, नरोत्तम दाहाल, हिरालाल श्रेष्ठ, बालगोपाल कंडेल र इन्द्र नेपाल रहेका छन्।

संघको वरिष्ठ उपाध्यक्षमा दीपक उप्रेती चयन भएका छन्। कार्यकालको आधारमा वरिष्ठ उपाध्यक्ष चयन हुने संघको प्रावधानअनुसार उप्रेती वरिष्ठ उपाध्यक्षमा चयन भएका हुन्। यस्तै, संघको अध्यक्ष सल्लाहकारमा विष्णुहरि पण्डित र महिला सभापतिमा सीतादेवी भेटवाल चयन भएको संघका अध्यक्ष प्रमोद सिंह रानाभाटले जानकारी दिए ।

संघले वस्तुगततर्फको सचिव पदमा बराबर मत पाएका नेत्रप्रसाद खतिवडा र राजाराम कार्कीलाई सहमतिका आधारमा आधा–आधा कार्यकाल पदमा रहने गरी जिम्मेवारी दिने निर्णय गरेको उनले बताए । यसअनुसार पहिलो डेढ वर्ष खतिवडाले र बाँकी कार्यकाल कार्कीले सचिवको जिम्मेवारी सम्हाल्नेछन्।

संघका अध्यक्ष प्रमोदसिंह रानाभाटले बैठकपछि भने, “मकवानपुर उद्योग वाणिज्य संघको पहिलो कार्यसमिति बैठकले कृष्णप्रसाद घिमिरेलाई कार्यसमिति सदस्यमा मनोनित गरेको छ। विभिन्न ओहोदामा ८ जना सल्लाहकार र एक जना अध्यक्ष सल्लाहकार चयन गरेका छौं। वरिष्ठ उपाध्यक्ष र महिला सभापतिको टुङ्गो लगाएर संघले व्यवसायीहरूसँग गरेका वाचा पूरा गर्नतर्फ प्रतिबद्धता जनाएको छ।”

पुष २४ देखि २७ गतेसम्म सम्पन्न संघको ५८औं साधारणसभा तथा अधिवेशनले रानाभाट नेतृत्वको नयाँ कार्यसमिति चयन गरेको थियो। अध्यक्ष पदका उम्मेदवार प्रमोदसिंह रानाभाटले अनिल अग्रवाललाई हराउँदै तीन वर्षे कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका थिए।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img

सिफारिस