Thursday, December 5, 2024
मकवानपुरहेटौंडा उपमहानगरपालिकामंसिर १६ उपनिर्वाचन: हेटौंडा-१२ मा १४ उम्मेदवारको भिडन्त

मंसिर १६ उपनिर्वाचन: हेटौंडा-१२ मा १४ उम्मेदवारको भिडन्त

हेटौँडा | मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता आइतबार सम्पन्न भएको छ। हेटौंडा उपमहानगरपालिका-१२ को वडाध्यक्ष पदका लागि यसपटक १४ जनाले मनोनयन दर्ता गराएका छन्। १४ उम्मेदवारमध्ये ९ जना विभिन्न राजनीतिक दलका तर्फबाट मैदानमा उत्रिएका छन् भने बाँकी ५ जना स्वतन्त्र उम्मेदवार हुन्।

नेपाली कांग्रेसबाट अर्जुनप्रसाद तिवारी, नेकपा एमालेबाट राजेश नगरकोटी, नेकपा माओवादी केन्द्रबाट रविनकुमार प्रधान, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट प्रेमबहादुर भ्लोन, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट आशाबिर बल, जनता समाजवादी पार्टी (जसपा) बाट छविलाल वाइबा, मंगोल नेशनल अर्गनाइजेशनबाट दिपा लामा, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट फूलमाया तितुङ र नेकपा एकीकृत समाजवादीबाट बलराम बलले उम्मेदवारी दिएका छन्।

राजनीतिक दलको उम्मेदवारीसँगै पाँच स्वतन्त्र उम्मेदवारले पनि मनोनयन दर्ता गरेका छन्। अर्जुन घलान, कुमार पोखरेल, गीता कुमारी नेवार, छत्रप्रकाश अधिकारी र युनेश लामा सिन्तान स्वतन्त्र उम्मेदवारको रूपमा मैदानमा छन्।

२०७९ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा एमालेबीच त्रिपक्षीय चुनावी भिडन्त भएको यस वडामा यसपटक चार दलीय प्रतिस्पर्धा हुने संकेत देखिएको छ। अघिल्लो चुनावमा माओवादी केन्द्रका ललितबहादुर घलानले १ हजार ३७१ मत प्राप्त गर्दै विजयी हुँदा कांग्रेसका अर्जुन तिवारीले १ हजार ३४० मत ल्याएर ३१ मतले पराजित भएका थिए। एमालेका राजेश नगरकोटीले १ हजार ३२५ मत ल्याएर तेस्रो स्थानमा चित्त बुझाएका थिए।

तर, यसपटकको उपनिर्वाचनमा स्थिति केही फरक देखिएको छ। २०७९ को आम निर्वाचनमा यस वडामा रास्वपाले समानुपातिकतर्फ झण्डै १ हजार ४ सय मत प्राप्त गरेको थियो। सोही आधारलाई लिएर यसपटक रास्वपाले वडाध्यक्ष पद जित्न सक्ने अनुमान गरिएको छ।

माओवादी केन्द्रले यसपटक अनुभवी नेता ललितबहादुर घलानको ठाउँमा युवा नेता रविन प्रधानलाई वडाध्यक्षको उम्मेदवार बनाएको छ। ललित घलान दुई पटकसम्म कांग्रेसका अर्जुन तिवारीलाई हराउँदै विजयी भएका थिए। तर, उनी अहिले मकवानपुर जिल्ला समन्वय समितिको प्रमुखमा निर्वाचित भएकाले अध्यक्ष पद रिक्त भएको थियो । माओवादीका लागि ललित घलानको साख जोगाउँदै विजयी हुने जिम्मेवारी अब रविन प्रधानको काँधमा आएको छ।

कांग्रेसका अर्जुन तिवारी, जसले दुई पटक माओवादीका उम्मेदवारसँग झिनो मतान्तरले पराजय भोगेका थिए, यस पटक आफ्नो तेस्रो चुनावी यात्रालाई सफल बनाउने दाउमा छन्। “यो पटक जित कांग्रेसकै पोल्टामा पर्छ,” तिवारीको दाबी छ। उनका अनुसार स्थानीय मतदाताले विगतको अनुभव र आगामी नेतृत्व क्षमताका आधारमा आफ्नो मत दिने विश्वास उनले व्यक्त गरेका छन्।

नेकपा एमालेका राजेश नगरकोटी, जो अघिल्लो चुनावमा तेस्रो स्थानमा चित्त बुझाउन बाध्य भएका थिए, यसपटक आफ्नो पुनरागमन सुनिश्चित गर्ने दाउमा छन्। एमालेको सक्रिय संगठन र मतदातामा रहेको आधारले उनलाई बलियो बनाउने अपेक्षा गरिएको छ।

रास्वपाका उम्मेदवार आशाबिर बलको प्रवेशले यसपटक चुनावी मैदानलाई थप प्रतिस्पर्धात्मक बनाएको छ। बलका अनुसार पुराना दलहरूप्रति निराश भएका मतदाताले यस पटक नयाँ पार्टीलाई विश्वास गर्ने संकेत मिलेको छ। “रवी लामिछानेको उदाहरण हाम्रा लागि प्रेरणा हो। यहाँका मतदाताले पुराना दलहरूलाई पराजित गर्दै रास्वपालाई विजयी बनाउने छन्,” उनले बताए।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार प्रेमबहादुर भ्लोन पनि यसपटक चुनावी प्रतिस्पर्धामा बलियो देखिएका छन्। मकवानपुर क्षेत्र नम्बर १ का सांसद दीपकबहादुर सिंहको प्रभाव रहेको यस क्षेत्रमा राप्रपाले पनि जितको दाबी गरिरहेको छ। सिंह आफैं उम्मेदवारको पक्षमा प्रचारप्रसारमा जुटेका छन्। भ्लोन लाई राप्रपा नेपालले पनि समर्थन गर्ने भएको छ ।

हेटौंडा-१२ मा कुल ८ हजार ५३ मतदाता छन्, जसमा ४ हजार १७४ महिला, ३ हजार ८७८ पुरुष र १ अन्य मतदाता छन्। यी मतदाताको निर्णयले वडाध्यक्ष पदको आगामी नेतृत्वलाई परिभाषित गर्नेछ।

सधैं त्रिपक्षीय भिडन्त हुने यस वडामा यस पटक रास्वपाको प्रवेशले रोचक समीकरण बनाएको छ। परम्परागत दलहरूले आफ्नो आधार जोगाउने चुनौती सामना गर्नु परिरहेको छ भने नयाँ दलले आफ्नो प्रभाव जमाउन प्रयास गरिरहेका छन्। आगामी उपनिर्वाचनमा कसले बाजी मार्छ भन्ने कुरा १६ गतेका दिन मात्र थाहा हुनेछ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement
spot_img
spot_img

सिफारिस

spot_img
spot_img