हेटौँडा | मकवानपुर र बारा जिल्लाको सिमानामा स्थित दक्षिण एसियाकै ऐतिहासिक चुरियामाई सुरुङ जीर्णोद्धारपछि पुनः खुला गरिएको छ। हेटौँडा-१५ स्थित चुरियामाई मन्दिरसँगै रहेको २२५ मिटर लामो सुरुङमार्ग सोमबारबाट स्थानीय नागरिक र पर्यटकका लागि पुनः सञ्चालनमा आएको हो।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले सुरुङमार्गको उद्घाटन गर्दै हेटौँडा उपमहानगरपालिकालाई सञ्चालनको जिम्मेवारी हस्तान्तरण गरे। प्रदेश सरकारले २०७८ सालको बैशाखमा काठमाडौंको माउन्टेन इन्फ्रा कम्पनीसँग सम्झौता गरेर सुरुङमार्गको जीर्णोद्धार प्रक्रिया सुरु गरेको थियो, जसको लागि ३ करोड ६५ लाख रुपैयाँ बजेट व्यय गरिएको हो।
जीर्णोद्धारपछि सुरुङमार्गको चौडाइ २.५ मिटर र उचाइ ३ मिटर कायम राखिएको छ। एक वर्षको स्थगनपछि, सुरुङमार्गलाई सञ्चालनमा ल्याइएको हो, जसको निर्माण २०८० असोज २२ मा पूरा भएको थियो। सुरुङमार्गको ढाँचा र कार्यविधि तयारी नभएपछि एक वर्षसम्म सञ्चालन नगरी राखिएको थियो।
हेटौँडा उपमहानगरपालिकाले तयार गरेको कार्यविधिअनुसार, नेपाली नागरिकलाई ५० रुपैयाँ, विदेशी नागरिकलाई १२० रुपैयाँ र विद्यार्थीलाई २० रुपैयाँ शुल्क तोकिएको छ। ५ वर्ष मुनिका बालबालिका, अपाङ्ग र ज्येष्ठ नागरिकहरूलाई निःशुल्क प्रवेश दिने व्यवस्था गरिएको छ।
यो सुरुङ निर्माण सन् १९१७ मा तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा नेपालका पहिलो ग्राजुएट इन्जिनियर डिल्लीजंग थापाको नेतृत्वमा गरिएको थियो। निर्माणको १०५ वर्षपछि यसको जीर्णोद्धार गरिएको हो।
समारोहमा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेल, प्रदेश सरकारका मन्त्री, पूर्व मन्त्री र प्रदेश सभा सदस्यहरूको उपस्थितिमा सुरुङमार्गको उद्घाटन गरियो।