कोशी | कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरमा सरुवा भई हालै कार्यभार सम्हालेका डिआईजी राजन अधिकारीले आफ्नो कार्यकालमा कुनै पनि प्रकारको गुण्डागर्दी हुन नदिने प्रतिबद्धता जनाएका छन्।
पत्रकारहरूसँगको भेटघाट तथा परिचयात्मक कार्यक्रममा बोल्दै अधिकारीले कोशी प्रदेशलाई शान्त र सुरक्षित बनाउन कडाइका साथ लाग्ने बताएका हुन्। “गुण्डागर्दीमा संलग्नले कुनै पनि किसिमको उन्मुक्ति पाउने छैन। समाजका सबै तहसँग सहकार्य गरेर गुण्डागर्दीलाई पूर्ण रूपमा निर्मूल पार्नेछौं,” उनले भने।
डिआईजी अधिकारीले सीमा क्षेत्रमा भइरहेको चोरी र तस्करीलाई रोक्न विशेष ध्यान दिने उल्लेख गरे। साथै, प्रहरीले तयार पारेको ४० बुँदे कार्ययोजना प्राथमिकतामा राखेर काम गर्ने जानकारी दिए। उनले भने, “कोशी प्रदेशका ९ जिल्लाहरूमा ४६ बुँदे, बाँकी पाँच जिल्लाहरूमा ४७ बुँदे कार्यसम्पादन सम्झौता भएको छ। यी योजनाहरूलाई कार्यान्वयन गरेर शान्ति सुरक्षालाई सुदृढ पार्न हामी प्रतिबद्ध छौं।”
उनले कोशी प्रदेश अन्तर्गत रहेका ८१५ इकाइहरूको प्रभावकारी सञ्चालनमार्फत समाजमा शान्ति सुरक्षा कायम गर्न आफू कटिबद्ध रहेको बताए। “ऐन कानूनको परिधिमा रही, संगठन प्रमुख प्रहरी महानिरीक्षकज्यूसँग भएको सम्झौता अनुरूप शान्ति सुरक्षाको अवस्था सुधार गर्न निरन्तर प्रयास गरिनेछ,” अधिकारीले थपे।
संचार माध्यमको भूमिका अपरिहार्य रहेको बताउँदै उनले अपराध नियन्त्रण र शान्ति सुरक्षाका लागि पत्रकार र आम नागरिकको निरन्तर सहयोगको अपेक्षा राखे।
डिआईजी अधिकारी गृह मन्त्रालयको मंसिर २७ गतेको निर्णयअनुसार विशेष व्यूरोबाट सरुवा भई पुस ३ गतेदेखि कोशी प्रदेश प्रहरी कार्यालयमा कार्यभार सम्हालिरहेका छन्। यसअघि चन्द्रकुबेर खापुङ्ग कोशी प्रदेश प्रहरी प्रमुख थिए।