Sunday, January 19, 2025
समाजदेश आर्थिक सङ्कटमा हुँदा व्यापारीको सम्पत्ति कसरी ४० अर्ब बढ्यो?

देश आर्थिक सङ्कटमा हुँदा व्यापारीको सम्पत्ति कसरी ४० अर्ब बढ्यो?

हेटौंडा । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पछिल्लो सरकारका कारण देश चरम आर्थिक र राजनीतिक सङ्कटमा फसेको बताएका छन् ।

शनिबार एमालेको मिसन ग्रासरुट अभियानअन्तर्गत हेटौंडा उपमहानगरपालिकाले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले सरकारकै कारण देश चरम आर्थिक सङ्कटबाट गुज्रिरहेको र कर्मचारीलाई तलब खुवाउन समेत वैदेशि ऋण लिनुपर्ने अवस्थामा पुगेको बताएका हुन् ।

उनले सरकार चलाउन र कर्मचारीलाई तलब खुवाउनकै लागि ऋण लिनुपर्ने स्थिति उत्पन्न हुनु मुलुकका लागि खतराको सङ्केत भएको टिप्पणी समेत गरेका छन् । ‘आज मुलुकमा जुन प्रकारको सङ्कट उत्पन्न भएको छ, त्यो अहिलेको सरकार र राजनीतिक अस्थिरताको कारणले हो,’ महासचिव पोखरेलले भने, ‘आउँदो असार महिनापछि यो मुलुकमा सरकारले ऋण लिएर कर्मचारीलाई तलब खुवाउनुपर्ने स्थिति उत्पन्न भइसकेको छ ।’

कर्मचारीलाई तलब खुवाउनका लागि ऋण लिनुपर्ने, खर्च र आम्दानीको बीचमा दुई खर्बको अन्तर हुनु, आम्दानी भन्दा खर्च दुई खर्ब ज्यादा हुनुले मुलुकको आर्थिक अवस्था सङ्कटमा फसिसकेको स्पष्ट हुने उनको भनाइ छ । उनले देश चरम आर्थिक सङ्कटबाट गुज्रिरहेको भए पनि व्यापारीको सम्पत्ति भने अर्वौं बढेको चर्चा गरे ।

‘एकजना व्यपारीको सम्पत्ति एक वर्षमा ४० अर्ब बढ्यो । देश सङ्कटमा छ, देशको एउटा व्यापारी ४० अर्ब एक वर्षमा कमाइ गर्छ । कसरी सम्भव हुन्छ यो कुरा ?’ नेता पोखरेलले भने, ‘तपाइँहरूले सुन्नुभएको होला, बजेट बनाउने बेलामा एकजना व्यापारीका एजेन्टलाई राखेर करका दरहरू हेरफेर गरियो भन्ने कुरा । बाहिर सार्वजनिक भयो, पछि त्यसलाई लुकाउनका लागि सीसीटीभीका फुटेजहरू, गायब पार्नका लागि तारहरू काटियो । त्यही घटनाको परिणाम एउटा व्यापारीको सम्पत्ति ४० अर्ब वृद्धि हुनु हो ।’

महासचिव पोखरेलले देश सङ्कटबाट गुज्रिरहनुको मुख्य कारण नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र नेतृत्वको सरकार रहेको स्पष्ट पारे । उनले कांग्रेस र माओवादीले अवलम्बन गरेको १५ महिनाको आर्थिक क्रियाकलापको परिणामले देश आर्थिक सङ्कटबाट गुज्रिरहेको बताए ।

उनले कांग्रेस र माओवादी नेतृत्वको सरकारकै कारण देश आर्थिक सङ्कटमा गएको भन्न नसक्नु विकासको बाधक रहेको बताउँदै अब त्यसका विरुद्ध एमालेका नेता तथा कार्यकर्ताहरू मौन नबस्ने चेतावनी समेत दिए । उनले समाजलाई बदल्न एमालेका नेता तथा कार्यकर्ताहरूलाई मौन नबस्न र सत्यका पक्षमा बहस गर्न निर्देशन दिए ।

महासचिव पोखरेलले एमाले सरकारमा रहँदा मुलुकको अवस्था र बाहिरिँदा अहिले मुलुकको आर्थिक अवस्थाबारे जानकारी गराएका थिए ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img