Friday, January 17, 2025
समाजमुसहर बालबालिकाको रौनक : ट्युसन कक्षाले बदल्यो जीवनशैली

मुसहर बालबालिकाको रौनक : ट्युसन कक्षाले बदल्यो जीवनशैली

इटहरी । इटहरी उपमहानगरपालिका वडा नम्बर १ मा मुसहर समुदायका बालबालिकाको शिक्षाको अवस्थामा उल्लेखनीय सुधार आएको छ । वडा कार्यालयले मुसहर बालबालिकालाई लक्षित गरी ट्युसन कक्षा सञ्चालन गरेपछि उनीहरूको विद्यालय भर्ना र नियमित उपस्थितिमा वृद्धि भएको छ ।

वडाले १० महिना अघिदेखि ५७ जना मुसहर बालबालिकाका लागि ट्युसन कक्षा सञ्चालन गरेको छ । यस कक्षामा ३ जना शिक्षकको व्यवस्था गरिएको छ भने बालबालिकालाई खाजा, कापी, कलम र पेन्सिलको पनि व्यवस्था गरिएको छ । उनीहरूलाई विभिन्न खेलकुदका सामग्री समेत उपलब्ध गराइएको छ ।

ट्युसन कक्षामा आउन थालेपछि मुसहर बालबालिका इन्द्रजित सदा, अमित सदा, वन्दना र सन्तोषी नियमित विद्यालय जान थालेका छन् । उनीहरूको पढाइमात्र होइन, आनीबानीमा समेत सुधार आएको छ । उनीहरूमा सरसफाइप्रति ध्यान दिन थालेका छन् र नियमित गृहकार्य गर्न थालेका छन् ।

वडा नम्बर १ मा एक सय ५० मुसहर समुदायको घर रहेको छ भने सीमान्तकृत अन्य समुदायका बालबालिका पनि यस कक्षामा पढ्न आउने गरेका छन् । वडाले मुसहर बालबालिकाको शिक्षाको अवस्था सुधार्न यस्तो कक्षा सञ्चालन गरेको वडाध्यक्ष कैलाश कार्कीले बताए ।

कार्कीका अनुसार ट्युसन कक्षा सञ्चालन गर्न वडाले पाँच लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । यसबाट शिक्षक पारिश्रमिक र स्टेशनरीको व्यवस्था गरिएको छ । उनले यस्तो कक्षा निरन्तरता दिने तयारी गरिरहेको बताए ।

ट्युसन कक्षाले बदल्यो जीवनशैली

इन्द्रजित सदा कक्षा ६ मा पढ्छन् । इटहरी उपमहानगरपालिका वडा नम्बर १ मुसहरी टोलमा घर भएका सदाका बुबा आमा मजदुरी गर्छन् । मजदुरी गर्ने भएकाले उनका बुवा आमा बिहानै काममा निस्कन्छन् ।

बुबा आमा नभएपछि इन्द्रजित मन लागेको बेला विद्यालय जान्थे, मन नलागेको बेला घरमै बस्थे । उनका साथीहरू अमित, वन्दना र सन्तोषीको अवस्था पनि उही थियो । मन लागेको बेला विद्यालय जाने, नलागेको बेला नजाने । तर, एक वर्षको अवधिमा इन्द्रजितमा ठूलो परिवर्तन आएको छ । इटहरी १ को कार्यालयले मुसहर बालबालिकालाई लक्षित गरेर ट्युसन कक्षा सञ्चालन गरेको छ ।

ट्युसन कक्षामा आउन थालेपछि इन्द्रजित नियमित विद्यालय जान थालेका छन् । उनी स्कुल मात्रै नियमित गइरहेका छैनन् घरमा गर्नुपर्ने गृहकार्य पनि नियमित गर्छन् । नियमित विद्यालय जान र गृहकार्य जान थालेपछि उनको पढाइ सुध्रिएको छ । पढाइसँगै उनको आनीबानीमा पनि परिवर्तन आएको छ । उनले सरसफाइमा समेत ध्यान दिन थालेका छन् ।

धोइ पखाली गरेर सफा लुगा लगाउने र चिटिक्क हुन थालेका छन् इन्द्रजित । इन्द्रजितकै सिको पछ्याउँदै नियमित विद्यालय जान थालेका छन्, अमित सदा पनि । वन्दना र सन्तोषी पनि आजकाल कक्षा छुटाउँदैनन् । विद्यालय होस यो ट्युसन । दुवै नियमित भएपछि उनीहरू अहिले विद्यालयमा लेखपढ गर्न जान्ने विद्यार्थीमा गनिन थालेका छन् । उनीहरू सबै जना जनजागृति आधारभूत विद्यालयमा कक्षा ६ मा पढ्छन् ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img