Friday, December 6, 2024
समाजहेटौँडामा दैनिक ३ करोड ५७ लाख लिटर पानी वितरण

हेटौँडामा दैनिक ३ करोड ५७ लाख लिटर पानी वितरण

हेटौँडा | हेटौँडा खानेपानी व्यवस्थापन बोर्डले आर्थिक वर्ष २०८०/८१ मा एक उल्लेखनीय उपलब्धि हासिल गरेको छ। बोर्डले मंगलबार आर्थिक २०८०/८१ को प्रगति बिवरण सार्वजनिक गर्दै हाल दैनिक ३ करोड ५७ लाख लिटर पानी उत्पादन गरी २७ हजार ७ सय २१ धाराहरू मार्फत वितरण गरिरहेको जनाएको छ । जसले गर्दा १ लाख ६० हजार भन्दा बढी नगरबासीहरूलाई निरन्तर खानेपानी सेवा प्रदान गरिएको छ।

बोर्डका अध्यक्ष प्रताप बिष्टका अनुसार, “२०७० साल जेठ ८ गतेदेखि हेटौँडाको नगरक्षेत्र भित्रको खानेपानीको व्यवस्थापन यस बोर्डले गर्दै आएको छ। हाल हेटौँडा उपमहानगर भित्र बसोबास गर्ने १ लाख ६० हजार नगरबासीहरुलाई दैनिक सरदर ७ देखि ८ घण्टा पानी वितरण गरिरहेका छौं।”

गत वर्षको तुलनामा धारा संख्यामा उल्लेखनीय वृद्धि भएको छ। आर्थिक वर्ष २०८०/८१ मा मात्र १४ सय ९८ नयाँ धारा जडान गरिएको छ भने विभिन्न उपभोक्ता समितिहरूबाट २३ सय २५ धारा बोर्डमा हस्तान्तरण भई आएका छन्। यसले गर्दा कुल धारा संख्या २७ हजार ७ सय २१ पुगेको छ।

आर्थिक पक्षमा पनि बोर्डले राम्रो प्रगति देखाएको छ। बोर्डले यस वर्ष १५ करोड ४ लाख ३६ हजार ४ सय ७९ रुपैया आन्तरिक आय संकलन गर्न सफल भएको छ, जुन वार्षिक लक्ष्यको १ सय २ दशमलव ७५ प्रतिशत हो। यसमध्ये पानी महसुल संकलनबाट मात्र १३ करोड ५८ लाख २५ हजार रुपैया सङ्कलन भएको छ, जुन लक्ष्यको १ सय २ दशमलव ४३ प्रतिशत हो।

बोर्डले गत वर्ष पूँजीगत खर्चतर्फ ठूलो लगानी गरेको छ। कुल १० करोड ५२ लाख रुपैया पूँजीगत खर्च गरिएको छ, जसमध्ये पाइप खरिदमा २ करोड खर्च भएको छ। यसबाट ४९ हजार २ सय १ मिटर नयाँ पाइपलाइन विस्तार गरिएको छ भने २३ हजार ६ सय ८० मिटर पुरानो जीर्ण पाइप परिवर्तन गरिएको छ।

बोर्डका कार्यकारी निर्देशक बिष्णु प्रसाद सापकोटाले भने, “हामीले यस वर्ष धेरै महत्वपूर्ण परियोजनाहरू सम्पन्न गरेका छौं। वडा नम्बर ८ मैदाटोल र मकवानपुरगढी गाँउपालिका वडा नम्बर ४ सामरीमा समवेल निर्माण गरी प्रतिदिन ७५ लाख लिटर थप पानी उत्पादन गरेका छौं। साथै, वडा नबर १८ हर्नामाडीमा शाखा कार्यालय स्थापना गरी सेवालाई विस्तार गरेका छौं।”

समग्रमा, हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले गत वर्ष उल्लेखनीय प्रगति हासिल गरेको छ र आगामी दिनमा थप सुधार र विस्तारका योजनाहरू अघि सारेको छ। यसले हेटौंडावासीहरूलाई थप गुणस्तरीय र भरपर्दो खानेपानी सेवा प्रदान गर्ने आशा जगाएको छ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement
spot_img
spot_img

सिफारिस

spot_img
spot_img