खोटाङ | खोटाङ जिल्लामा हालै आएको बाढी र पहिरोबाट विस्थापित भएका ३३ परिवारले यस वर्षको दसैँ पर्व आफन्त, छिमेकी, विद्यालय भवन र सार्वजनिक स्थलमा आश्रय लिएर मनाइरहेका छन्। असोज ११ र १२ गते परेको भारी वर्षासँगै आएको बाढी तथा पहिरोले ठूलो जनधनको क्षति पु¥याएको थियो। यसबाट सबैभन्दा प्रभावित बाराहापोखरी गाउँपालिका–५ स्थित बङ्सिलाघाटका १४ परिवार विस्थापित भएका छन्।
सुनकोशी नदी किनारमा रहेको बङ्सिलाघाटमा पानीको बहाव घट्दै गएपछि केही परिवारले क्षतिग्रस्त घरको मर्मत गर्दै बसोबास गर्न थालेका छन्। तर, धेरै परिवारले आफ्नो घर र सम्पत्ति गुमाएपछि दसैँको उल्लास हराएको छ। नेपाली कांग्रेस बराहापोखरी गाउँपालिका कार्यसमिति सभापति खिलाराज राईका अनुसार बाढीले घर भत्किएपछि ती परिवारका लागि दसैँ र तिहारले कुनै विशेष अर्थ नरहेको बताए।
अन्य ठाउँमा पनि बाढी तथा पहिरोले व्यापक क्षति गरेको छ। हलेसी तुवाचुङ नगरपालिका–१ स्थित बाहुनीडाँडाको जयरामघाट, ऐँसेलुखर्क गाउँपालिका–१ राखाबाङ्देल, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्क, र रावाबेँसी गाउँपालिका–६ हौँचुरका परिवारहरू पनि विस्थापित भएका छन्। तीमध्ये केहीले छिमेकीको घरमा आश्रय लिएका छन् भने केहीले अन्यत्र गएर दसैँ मनाइरहेका छन्।
हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता कमल गिरीका अनुसार बाढी र पहिरोले घर तथा सामग्री गुमाएका पीडितलाई स्थानीय सरकारले अस्थायी बसोबास र खाद्यान्नको व्यवस्था गरेको छ। उनले भने, “दसैँ, तिहार र छठ पर्वपछि स्थायी आवास निर्माणको योजना बनाउने छौँ।”
बाढीका कारण खोटाङ जिल्लाका धेरै ग्रामीण सडकहरू अवरुद्ध भएका छन् भने दिक्तेल–गाईघाट सडकमा पर्ने सुनकोशीस्थित फोक्सिङटारको पुल बगेपछि पूर्वी तराईसँगको सिधा यातायात सम्पर्क समेत विच्छेद भएको छ। यद्यपि, केही मुख्य सडकहरू पहिरो हटाएर पुनः सञ्चालनमा ल्याइएका छन्।
यो वर्षको दसैँ, तिहार र छठ पर्व खोटाङ जिल्लाका अधिकांश परिवारका लागि पीडादायी बनेको छ। बाढीपहिरो पीडितहरूले आफन्त र स्थानीयको सहयोगमा अस्थायी रूपमा दसैँ मनाए पनि उनीहरूको दीर्घकालीन पुनःस्थापनाका लागि अझै धेरै समय र स्रोत आवश्यक छ।