देशकोशी प्रदेशहतुवागढी महोत्सव कात्तिक ३ गतेदेखि, संस्कृति र पर्यटन प्रवर्द्धनमा योगदानको अपेक्षा

हतुवागढी महोत्सव कात्तिक ३ गतेदेखि, संस्कृति र पर्यटन प्रवर्द्धनमा योगदानको अपेक्षा

भोजपुर | हतुवागढी गाउँपालिकामा स्थानीय जातजातिका संस्कार, संस्कृति र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले कात्तिक ३ गतेदेखि १७ गतेसम्म बृहत् हतुवागढी महोत्सव आयोजना गरिने भएको छ। महोत्सव हतुवागढी गाउँपालिका र जिल्ला उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा हुनेछ, जसका लागि गाउँपालिकाले रु ३० लाख बजेट विनियोजन गरेको छ।

हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले महोत्सवले स्थानीय संस्कृति र पर्यटन प्रवर्द्धनमा ठुलो योगदान पुर्‍याउने आशा व्यक्त गरेका छन्। महोत्सवले स्थानीय संस्कृतिको संरक्षणसँगै पर्यटन विकासमा पनि महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

महोत्सवको मुख्य आकर्षणको रूपमा एक विशेष दौड प्रतियोगिता हुनेछ। यो प्रतियोगिता जिल्लाको सबैभन्दा होचो स्थल माइबेँनी (१५३ मिटर उचाइ) बाट सुरु भई १,८६५ मिटर उचाइमा रहेको सङखाम जोर आहाल हुँदै घोडेटार बजारसम्म २६ किलोमिटरको दूरीमा आयोजना गरिनेछ। यो साहसिक दौड प्रतियोगिताले खेलकुद प्रेमीहरूलाई आकर्षित गर्नुका साथै क्षेत्रको प्राकृतिक सौन्दर्य र भौगोलिक विविधतालाई उजागर गर्ने उद्देश्य लिएको छ।

महोत्सवमा स्थानीय संस्कृतिको जगेर्ना गर्न परम्परागत नृत्य र वाद्यवादन यन्त्रहरूको प्रदर्शनी गरिनेछ। मारुनी, स्यामुना सिली, लाखे, हुर्रा, डम्फु नाच जस्ता संस्कृतिका धरोहरहरू महोत्सवमा देखाइने छन्। साथै, कृषि उत्पादन, हस्तकला र स्थानीय सांस्कृतिक झल्को दिने प्रदर्शनीहरूले महोत्सवलाई थप रंगीन बनाउनेछन्।

अध्यक्ष राईका अनुसार महोत्सवले हतुवागढीको पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पार्नेछ। यस महोत्सवले स्थानीय समुदायको सांस्कृतिक पहिचानलाई सशक्त बनाउँदै देशभित्र र बाहिरका पर्यटकहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ। महोत्सवले स्थानीय व्यापारिक गतिविधिमा पनि वृद्धि गरी आर्थिक र सामाजिक विकासमा योगदान पुर्‍याउने विश्वास लिइएको छ।

हतुवागढी महोत्सवले भोजपुर क्षेत्रको सांस्कृतिक सम्पदा, प्राकृतिक सौन्दर्य र पर्यटन सम्भावनालाई उजागर गर्ने महत्त्वपूर्ण अवसरको रूपमा लिन सकिन्छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img