काठमाडौं | इजरायलसँग भएको युद्धविराम सम्झौताअन्तर्गत हमासले पहिलो चरणमा रिहा गर्न लागेको ३३ बन्धकको सूची सार्वजनिक भएको छ। तर, यो सूचीमा ७ अक्टोबर २०२३ मा हमासद्वारा अपहरण गरिएका नेपाली विद्यार्थी विपिन जोशीको नाम समावेश गरिएको छैन।
सम्झौताअनुसार आइतबार तीन महिला बन्धक रिहा गर्ने घोषणा गर्दै हमासले युद्धविराम सम्झौताको कार्यान्वयन सुरु गरेको छ। इजरायलले ३३ जनाको नामसहितको सूची हमासलाई बुझाएको थियो, जसलाई हमासले रिहा गर्ने प्रतिबद्धता जनाएको छ।
पाँच दिनअघि भएको युद्धविराम सम्झौता
पाँच दिनअघि कतार, अमेरिका, र इजिप्टको मध्यस्थतामा इजरायल र प्यालेस्टाइनबीच युद्धविराम सम्झौता भएको थियो। आइतबार बिहान ६ बजेदेखि लागू हुने भनिएको युद्धविराम सम्झौता कार्यान्वयनका क्रममा हमासले रिहा गरिने बन्धकहरूको नाम उपलब्ध गराउन ढिलाइ गर्दा इजरायलले गाजामा आक्रमण गरेको थियो।
त्यसपछि हमासले तीन बन्धक रिहा गर्ने घोषणा गर्यो र इजरायलले पनि युद्धविराम सम्झौता कार्यान्वयनमा आएको पुष्टि गर्यो।
विपिन जोशीको अवस्था अज्ञात
बझाङका नेपाली विद्यार्थी विपिन जोशी अध्ययनका क्रममा दक्षिण इजरायलमा रहेका बेला हमासले अपहरण गरेको थियो। हालसम्म उनको अवस्था अज्ञात छ।
बीबीसीका अनुसार ३३ बन्धकको सूचीमा ९ महिनाका बालक कफिर विवासदेखि ८६ वर्षीय शलोमो मन्जरसम्मका नाम समावेश छन्। बन्धक बनाइएका कफिरले कैदमै दोस्रो जन्मदिन मनाइसकेका छन्।
युद्धविराम सम्झौताअनुसार हमासले आगामी ६ हप्ताभित्र ३३ जनाको रिहाइ गर्ने जनाएको छ। तर, सूचीमा नेपाली नागरिक विपिन जोशीको नाम नअटाउनुले उनको अवस्था अझै अन्योलमा परेको छ।