काठमाडौं | जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जारी गरेको पछिल्लो बुलेटिनअनुसार देशका विभिन्न भू-भागहरूमा बदलीको अवस्था रहेको छ भने केही प्रदेशहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना देखिएको छ।
विभागका अनुसार हाल नेपालको पश्चिम तथा मध्य भू-भागमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव कायम रहेको छ भने कोशी प्रदेशमा मनसुनजन्य वायुको प्रभाव देखिएको छ। जेठ १५ गते राति पूर्वी नेपाल हुँदै मनसुन प्रवेश गरिसकेको पुष्टि विभागले गरेको छ। हाल कोशी प्रदेशका अधिकांश क्षेत्रमा मनसुन विस्तार भइसकेको छ।
वर्तमान अवस्थामा गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रही गण्डकी प्रदेशका एक-दुई स्थानहरूमा हल्का वर्षा भैरहेको जानकारी विभागले दिएको छ।
विभागले आगामी २४ घण्टाका लागि विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। कोशी, सुदूरपश्चिम, गण्डकी तथा कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र अन्य स्थानका एक-दुई भागमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, कोशी र सुदूरपश्चिम प्रदेशका उच्च-पहाडी तथा हिमाली क्षेत्रहरूमा समेत हल्का वर्षा वा हिमपात हुन सक्ने भएकाले जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावनालाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।
विभिन्न प्रदेशहरूमा दिउँसो र राति दुबै समयका लागि विश्लेषण गर्दा हिमाली, पहाडी तथा तराई भू-भागहरूमा आंशिकदेखि साधारण बदली रहने र केही स्थानहरूमा चट्याङसहितको वर्षा सम्भावना देखिएको छ। लुम्बिनी र कर्णाली प्रदेशका हिमाली भागमा हिमपात पनि हुन सक्ने देखिएको छ।
यस्तो रहनेछ आगामी ३ दिनको मौसम
आगामी तीन दिनको मौसम पूर्वानुमान हेर्दा, देशभर सामान्यदेखि आंशिक बदलीको अवस्था रहनेछ। आज जेठ २० गते रातिसम्म कोशी, सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशका पहाडी भेगहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ भने अन्य प्रदेशका एक-दुई स्थानमा पनि वर्षा हुनसक्छ। साथै, कोशी र सुदूरपश्चिम प्रदेशका उच्च हिमाली भेगहरूमा हल्का हिमपातको सम्भावना पनि मौसम विभागले जनाएको छ।
भोलि जेठ २१ गते बिहानको समयमा देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का वर्षा हुनसक्छ। दिउँसोको समयतिर वर्षा बढी हुने देखिएको छ। विशेषगरी कोशी, मधेस, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भेगमा एक-दुई स्थानमा भारी वर्षा पर्ने सम्भावनासमेत रहेको छ। रातिसम्म पनि यी प्रदेशहरूमा बदलीको अवस्था कायम रहनेछ र भारी वर्षा हुने सम्भावनाले सतर्क रहन विभागले आग्रह गरेको छ।
पर्सि अर्थात् जेठ २२ गते पनि मौसममा धेरै सुधार देखिदैन। बिहान आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरूमा हल्का वर्षा हुनसक्छ। दिउँसो देशभर सामान्य बदली रहनेछ र गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा सम्भावित छ। केही ठाउँमा भारी वर्षा पनि हुनसक्ने भएकाले जोखिमयुक्त क्षेत्रहरूमा सतर्कता आवश्यक हुनेछ। रातिसम्म पनि बदलीको अवस्था रहनेछ र पहाडी क्षेत्रमा मौसमको प्रभाव केही समयसम्म रहिरहन सक्छ।
मौसम पूर्वानुमान महाशाखाले चट्याङ, भारी वर्षा र बाढीका सम्भावनालाई ध्यानमा राख्दै नागरिकहरूलाई सतर्क रहन तथा आवश्यक सुरक्षात्मक उपायहरू अवलम्बन गर्न आग्रह गरेको छ। साथै, हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको हुँदा त्यहाँको हवाई तथा स्थल यातायात प्रभावित हुनसक्ने भएकाले विशेष सतर्कता अपनाउन सुझाव दिइएको छ।