भोजपुर । भोजपुर जिल्लाको पूर्वी अरुण गाउँपालिका अब पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिकाका रूपमा औपचारिक रूपमा घोषणा गरिएको छ। आइतबार आयोजित विशेष समारोहमार्फत गाउँपालिकाका सातवटै वडाले आवश्यक सबै खोप प्रदान गरिसकेको आधारमा यस्तो घोषणा गरिएको हो।
जिल्ला समन्वय समितिका सभापति कमल थुलुङ र गाउँपालिका अध्यक्ष शालिकराम खत्रीले संयुक्त रूपमा पालिकालाई औपचारिक रूपमा घोषणा गरेका हुन्। कार्यक्रममा प्रमुख अतिथि थुलुङसँगै जिल्ला स्वास्थ्य कार्यालय भोजपुरका प्रमुख राजु श्रेष्ठ, गाउँपालिका उपाध्यक्ष विनिता ढकाल, प्रमुख प्रशासकीय अधिकृत जित्मान जिमी, सातै वडाका वडा अध्यक्ष, स्वास्थ्य स्वयंसेविका, विभिन्न राजनीतिक दलका प्रतिनिधि, पत्रकार, स्वास्थ्यकर्मी तथा स्थानीय नागरिकहरूको उल्लेखनीय उपस्थिति थियो।
स्वास्थ्य शाखा प्रमुख रुपक पुलामी मगरका अनुसार, पालिकाले अघिल्ला दिनहरूमा सबै वडाबाट खोप सुनिश्चितताको घोषणा गरिसकेको थियो। हाल जन्मेदेखि १५ महिनासम्मका ९५ प्रतिशतभन्दा बढी बालबालिकालाई राष्ट्रिय खोप तालिकाअनुसार सबै आवश्यक खोप दिइएपछि पूर्ण सुनिश्चितता तथा दिगोपना घोषणामा पुगिएको हो।
गाउँपालिका अध्यक्ष शालिकराम खत्रीले बालबालिकाहरू खोपबाट वञ्चित नहोस् भन्ने हेतुले महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी, जनप्रतिनिधि र सरोकारवालाहरूको भूमिकालाई अझ सशक्त बनाउने प्रतिबद्धता जनाए।
जिल्ला समन्वय समितिका सभापति थुलुङले पालिकालाई बधाई दिंदै खोप अभियानको निरन्तरता आवश्यक रहेको उल्लेख गरे। साथै पालिकामा निर्माणाधीन १५ शय्याको अस्पताल सञ्चालनका लागि आवश्यक सहयोग पुर्याउने आश्वासन पनि दिए।
कार्यक्रममा सातै वडाका स्वास्थ्य चौकी र महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई सम्मानपत्र प्रदान गर्दै सम्मान गरिएको थियो। साथै खोप सुनिश्चितता तथा दिगोपनाप्रतिको प्रतिबद्धता पत्रमा हस्ताक्षर समेत गरिएको थियो।
पूर्वी अरुण गाउँपालिका, भोजपुर जिल्लामा पूर्ण खोप पालिका घोषणा हुने तेस्रो पालिका बनेको हो। यसअघि भोजपुर नगरपालिका र हतुवागढी गाउँपालिकाले पनि सो घोषणा गरिसकेका छन्।



