चितवन | चितवनको राप्ती नगरपालिका–३ स्थित पूर्व–पश्चिम राजमार्गमा यात्रुवाहक बस र माइक्रोबस एकआपसमा ठोक्किँदा सात जनाको मृत्यु भएको छ भने २० जना यात्रु घाइते भएका छन्। शुक्रबार बिहान भएको उक्त दुर्घटनामा धनगढीबाट काकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १–०१–००१ख ३५८३ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको बागमती प्रदेश ०३–००१ज २९९ नम्बरको माइक्रो एकआपसमा ठोक्किएका थिए।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी रविन्द्र खनालका अनुसार दुर्घटनामा घाइते भएकामध्ये केहीको अवस्था गम्भीर छ भने केहीको सामान्य रहेको छ। घाइतेहरूको भरतपुर अस्पताल, एलाईभ अस्पताल, पुरानो मेडिकल कलेज र नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ।
भरतपुर अस्पतालमा मृत्यु हुनेमा मकवानपुर हटिया–३ का ५५ वर्षीय सोमप्रसाद रुपाखेती, हेटौंडा–५ की ५३ वर्षीया मैया कुमारी न्यौपाने पहाडी, नाम नखुलेका १८/१९ र २४/२५ वर्षकी दुई महिला, २२/२३ वर्षीय पुरुष, ३०/३५ वर्षीया गर्भवती महिला र ३५/४० वर्षीय पुरुष रहेका छन्।
एलाईभ अस्पतालमा उपचाररत घाइतेहरूमा मकवानपुरका सक्षम थापा (१६), सिंहबिर घलान (३२), विष्णु लम्साल (३१) र गंगा घलान (३४) रहेका छन्। पुरानो मेडिकल कलेजमा झापा गौरादह–९ की सुशीला बराल (६५), उमा बराल (६७), कञ्चनपुर बेलौरी–४ का वीरबहादुर जैसी (४८) र रुकुम पश्चिम आठबिस्कोट–९ का सन्देश ओली (३०) को उपचार भइरहेको छ। नयाँ मेडिकल कलेजमा १० जनाको उपचार भइरहेको प्रहरीको भनाइ छ ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय भण्डाराबाट प्रहरी निरीक्षक रुपेश विष्ट, खैरहनीबाट प्रहरी निरीक्षक प्रदिपजंग महत र टाँडीबाट डिएसपी रन्जन अवाको नेतृत्वमा ४५ जनाको प्रहरी टोली खटिएको छ। घटनाबारे थप अनुसन्धान र विवरण संकलनको कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।



