काठमाडौं । नेपाल पत्रकार महासंघले अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरणको प्रक्रिया तत्काल खोल्न सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको छ ।
महासंघकी अध्यक्ष निर्मला शर्माको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले बुधबार सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई ज्ञापनपत्र बुझाउँदै दर्ता–नवीकरण रोकिएका कारण सञ्चारमाध्यमले भोग्नुपरेको असहजता तत्काल अन्त्य गर्न माग गरेको हो ।
महासंघका महासचिव रामप्रसाद दाहालद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरण छिट्टै नियमित नभए महासंघ आन्दोलनमा जाने चेतावनी दिइएको छ ।
ज्ञापनपत्र बुझ्दै मन्त्री गुरुङले अनलाइन सञ्चारमाध्यमलाई परेको असहजता अन्त्य गर्न संक्रमणकालीन व्यवस्था गर्ने र चाँडै नयाँ नियमावली ल्याउने आश्वासन दिएका छन् ।
त्यस्तै, मन्त्रालयकी सचिव राधिका अर्यालले पनि सञ्चारमाध्यम दर्ता र नवीकरण सहज बनाउन पहल गरिने बताइन् ।
छापाखाना तथा प्रकाशनसम्बन्धी ऐन, २०४८ मा संशोधन गरी अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरण स्थानीय प्रशासनमार्फत गर्ने व्यवस्था गरेपछि हाल देशभर अनलाइन सञ्चारमाध्यमको दर्ता, नवीकरण र सञ्चालन अवरुद्ध भएको छ ।



