समाजसेनाको कडाइ, जेन–जीसँग वार्ता अल्झिँदा राजधानी बजार बन्द

सेनाको कडाइ, जेन–जीसँग वार्ता अल्झिँदा राजधानी बजार बन्द

काठमाडौँ | जेन–जी समूहसँग भएको दुईदिने वार्ता निष्कर्षमा पुग्न नसकेपछि नेपाली सेनाले कडाइ बढाएको छ । बिहीबार साँझ सात बजेदेखि सेनाले काठमाडौँका मुख्य बजार क्षेत्र जबर्जस्ती बन्द गराएको छ।

दिनभर सडक गस्तीमा खटिएको सेनाले साँझ पर्नासाथ कडाइका साथ बजार बन्द गराएको हो। यता, जेन–जी नेताहरू भने राजधानी भद्रकाली अगाडिको सडकमा आपसमा विवाद गर्दै दिनभर गलफत्तीमा व्यस्त रहे। बुधबार राति त्यहाँ कुटाकुटसम्म भएको थियो।

प्रधानसेनापति अशोक सिग्देल विगत दुई दिन विवादास्पद अभियन्ता दुर्गा प्रसाईंसँग निरन्तर संवादमा छन्। आफूलाई पूर्वराजा ज्ञानेन्द्र शाहको नजिकको प्रतिनिधि भन्दै आएका प्रसाईं चैत १५ को घटनापछि करिब तीन महिना जेल बसेका व्यक्ति हुन्। सिग्देलले बुधबार जेन–जी नेताहरूसँगको भेटमा प्रसाईंलाई वार्ताको ‘हिस्सेदार’का रूपमा प्रस्तुत गर्दै उनीहरूसँग पनि संवाद गर्न सुझाएका थिए।

बुधबार करिब ६ घण्टा जंगी अड्डामा बसेका प्रसाईंलाई बिहीबार बिहान सेनाले आफ्नै सुरक्षासहित पुनः बोलाएको थियो। अन्तरिम सरकारको नेतृत्वका लागि चर्चामा रहेकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई पनि सेनाले विशेष सुरक्षा व्यवस्था मिलाएर जंगी अड्डा लगेको थियो।

यसैबीच, मंगलबारैदेखि सेनाको नियन्त्रणमा रहेका कामचलाउ प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका शीर्ष नेतामाथि सेना थप कडाइ गरेको छ। उनीहरूलाई अघोषित नजरबन्दमा राखिएको छ भने मोबाइल फोन र सामाजिक सञ्जाल प्रयोगमा समेत रोक लगाइएको छ।

राजधानीको तरल राजनीतिक अवस्थामा सेनाले प्रसाईंलगायतसँग बाक्लो संवाद थालेपछि सामाजिक सञ्जालमा ‘राजसंस्था फर्काउने तयारी’ भइरहेको आशंका फैलिएको छ। सेनाले शुक्रबारका लागि कर्फ्यु केही खुकुलो बनाएको भए पनि निषेधाज्ञा जारी गर्ने र हटाउने काम उसैले गरिरहेको छ।

संसद् भवन क्षेत्रलगायतका सडकमा आवतजावतमा रोक लगाउँदै सेनाले पत्रकारहरूको हिँडडुलमा समेत कडाइ थालेपछि रिपोर्टिङमा समेत कठिनाइ भएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img