समाजगाजामा हमासले ‘बिदाइ तस्बिर’ सार्वजनिक, नेपाली विपिन जोशी पनि

गाजामा हमासले ‘बिदाइ तस्बिर’ सार्वजनिक, नेपाली विपिन जोशी पनि

गाजा | इजरायली सेनाले गाजाको सबैभन्दा ठूलो शहरी क्षेत्रलाई कब्जा गर्ने प्रयास तीव्र बनाइरहेका बेला हमाससम्बद्ध कासम ब्रिगेडले शनिबार ४८ जना इजरायली बन्धकहरूको ‘बिदाइ तस्बिर’ सार्वजनिक गरेको छ। उक्त संकलनमा जीवित र मृत दुवै बन्धकहरूको अनुहार देखाइएको छ। जसमा नेपालका विद्यार्थी विपिन जोशीको तस्वीर पनि राखिएको छ।

तस्बिरमा ‘रोन अरद’ भन्ने क्याप्सन लेखिएको छ, जसले सन् १९८६ मा लेबनानमा बेपत्ता भएका इजरायली वायुसेनाका क्याप्टेन रोन अरदलाई संकेत गरेको बताइएको छ। अरदको विमान दक्षिणी लेबनानमा आक्रमणका क्रममा दुर्घटनाग्रस्त भएको थियो। उनी अमल आन्दोलनले पक्राउ गरी पछि हिजबुल्लाहलाई बुझाएको र त्यसपछि उनको मृत्यु भएको अनुमान गरिए पनि ठोस प्रमाण भेटिएको छैन।

हमासले तस्बिरसँगै सन्देश पनि प्रसारित गरेको थियो। ‘नेतन्याहूको इन्कार र जामरको आत्मसमर्पणका कारण, गाजा सहरमा सैन्य कारबाही सुरु भएपछि यो बिदाइ तस्बिर,’ सन्देशमा भनिएको थियो। यो भनाइ इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले युद्धविरामबारे सम्झौता अस्वीकार गरेको र इजरायली सेना प्रमुख अयाल जामरले गाजा सहर कब्जा गर्ने सरकारी योजनामाथि देखाएको असहमतिको सन्दर्भमा जोडिएको छ।

इजरायली अधिकारीहरूले करिब २० जना बन्धक अझै जीवित रहेको विश्वास व्यक्त गरेका छन्। तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वास्तविक संख्या सो भन्दा कम हुन सक्ने बताएका छन्। नेतन्याहू भने निरन्तर सबै बन्धकहरूलाई जीवित वा मृत फिर्ता ल्याउने र हमासलाई ‘पूर्ण नष्ट’ गर्ने अठोट सार्वजनिक गर्दै आएका छन्।

हमासले इजरायली आक्रमण बढ्दै गए बन्धकहरूको जीवन झन् जोखिममा पर्ने चेतावनी दिँदै आएको छ। समूहका अनुसार केही बन्धकहरू इजरायली हवाई आक्रमणमै मारिएका छन् भने बाँकी विभिन्न भागमा विभाजित गरी राखिएको छ।

शनिबारको यो ‘धम्कीपूर्ण तस्बिर’ सार्वजनिक हुनुभन्दा केही घण्टाअघि मात्रै इजरायलका लाखौं नागरिक फेरि सडकमा उत्रिएका थिए। उनीहरूले सरकारविरुद्ध प्रदर्शन गर्दै युद्ध तत्काल अन्त्य गर्न र सबै बन्धकहरूलाई सुरक्षित फिर्ता ल्याउन माग गरेका थिए।

यसअघि हमासले गत महिना दुई जना इजरायली बन्धकहरूको भिडियो सार्वजनिक गरेको थियो। त्यसअघि पनि कुपोषित अवस्थामा रहेका अन्य दुई बन्धकहरूको दृश्य प्रकाशित गरिएको थियो, जसमा एकलाई आफ्नो चिहान खन्दै गरेको देखाइएको थियो। यी तस्बिर तथा भिडियोहरूले इजरायलभित्रै मात्र नभई अमेरिकालगायत अन्य सहयोगी मुलुकहरूमा पनि आक्रोश फैलाएको छ।

प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर २०२३ देखि सुरु भएको युद्धमा हालसम्म कम्तीमा ६५ हजार २०८ जना मारिएका छन् भने १ लाख ६६ हजारभन्दा बढी घाइते भएका छन्। मार्च १८ मा युद्धविराम भंग भएको यता मात्रै १२ हजार ६५३ को मृत्यु भएको छ र ५४ हजारभन्दा बढी घाइते भएका छन्।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img