हेटौँडा । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली तथा नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव देखिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागमा अहिले सामान्यदेखि आंशिक बदली रहेको छ। यसैबीच कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा भइरहेको छ।
महाशाखाले शुक्रबार कोशी प्रदेशसहित देशका अधिकांश पहाडी तथा हिमाली भू–भागमा सामान्य बदली रहने र अन्य स्थानमा आंशिक बदली रहने जनाएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
त्यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा तथा मधेस, बागमती र गण्डकी प्रदेशको तराईका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपात पनि हुन सक्ने सम्भावना रहेको छ।



