काठमाडौं । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ थप शक्तिशाली बन्दै गएपछि नेपालमा पनि भारी वर्षा, हावाहुरी र हिमपातको जोखिम बढेको छ। यसअघि कात्तिक ११ गतेदेखि मौसम प्रभावित हुन सक्ने प्रारम्भिक पूर्वानुमान गरिएकोमा पछिल्लो विश्लेषणले बिहीबारदेखि प्रभाव बढ्ने र शुक्रबार तथा शनिबार बढी वर्षा हुन सक्ने देखाएको छ।
जल तथा मौसम विज्ञान विभागले सोमबार जारी गरेको पोस्ट मनसुनसम्बन्धी विशेष मौसम बुलेटिनका आधारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कात्तिक १२ देखि १४ गतेसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
विभागका अनुसार बंगालको खाडीमा विकसित चक्रवात क्रमशः शक्तिशाली बन्दै गएको छ। यो प्रणाली अझ बलियो भएर अति शक्तिशाली चक्रवातमा परिणत हुन सक्ने अनुमान गरिएको छ। चक्रवात कात्तिक ११ गते बुधबार भारतको आन्ध्र प्रदेशस्थित यानमनजिकको तटीय क्षेत्रबाट जमिनमा प्रवेश गर्ने सम्भावना छ।
त्यसपछि यसको अप्रत्यक्ष प्रभाव नेपालमा देखिनेछ। पछिल्लो मौसम विश्लेषणअनुसार कात्तिक १२ गते बिहीबार रातिदेखि मौसम प्रभावित हुन सक्ने र कात्तिक १३ तथा १४ गते वर्षाको प्रभाव बढी देखिने अनुमान गरिएको छ।
विशेषगरी कोसी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश चक्रवातको प्रभावबाट बढी प्रभावित हुने सम्भावना छ। शुक्रबार र शनिबार कोसी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यम वर्षा तथा केही स्थानमा भारी वर्षा हुन सक्नेछ।
लुम्बिनी प्रदेशका केही स्थानमा पनि मध्यम वर्षा र थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा तथा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने विभागको अनुमान छ।
उच्च पहाडी तथा हिमाली क्षेत्रमा भने भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेको छ। प्रतिकूल मौसमले सडक तथा हवाई यातायात, कृषि, पर्यटन र दैनिक जनजीवन प्रभावित पार्न सक्ने भएकाले आवश्यक पूर्वतयारी गर्न आग्रह गरिएको छ।
यसअघि विभागले कात्तिक ७ गते जारी गरेको विशेष बुलेटिनमा कात्तिक ११ देखि १५ गतेसम्म चक्रवातको प्रभावले मौसम बदली तथा वर्षा हुन सक्ने जनाएको थियो। त्यसबेला चक्रवातको विकासक्रम र नेपालमा पर्ने प्रभावबारे थप विश्लेषण भइरहेको थियो।
सोमबार जारी पछिल्लो बुलेटिनले भने प्रभाव बढी पर्ने समय र प्रदेशहरू थप स्पष्ट पारेको छ। कात्तिक ११ गते केही क्षेत्रमा हल्का वर्षा वा मौसम बदली हुन सक्ने भए पनि चक्रवातका कारण व्यापक वर्षाको सम्भावना बिहीबारदेखि बढ्ने देखिएको छ। विशेषगरी शुक्रबार र शनिबार उच्च सतर्कता आवश्यक रहेको विभागको पूर्वानुमान छ।
सम्भावित वर्षालाई ध्यानमा राख्दै प्राधिकरणले किसानहरूलाई कात्तिक १२ गतेअघि नै धान काट्ने तथा भित्र्याउने काम सम्पन्न गर्न आग्रह गरेको छ। विशेषगरी धान पाकेर काट्ने अवस्थामा पुगेका किसानलाई मौसमको अवस्था हेरेर समयमै बाली सुरक्षित गर्न सुझाव दिइएको छ।
त्यस्तै, उच्च पहाडी तथा हिमाली क्षेत्रमा पदयात्रा नगर्न, पुगिसकेका पर्यटकलाई सुरक्षित स्थानमा बस्न र अत्यावश्यक कामबाहेक लामो यात्रा नगर्न आग्रह गरिएको छ।
जोखिम बढेको अवस्थामा सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले सम्बन्धित निकायलाई पूर्वतयारी अवस्थामा रहन भनिएको छ। बाढीपहिरोको जोखिम भएका स्थानमा बसोबास गर्ने नागरिकलाई आवश्यक परे सुरक्षित स्थानमा सार्न स्थानीय तह तथा सुरक्षा निकायलाई निर्देशन दिइएको छ।
प्राधिकरणले कात्तिक ११ देखि १५ गतेसम्म नारायणी, बागमती, कमला र कोसी नदीका जलाधार तथा आसपासका क्षेत्रमा उल्लेख्य वर्षा हुन सक्ने जनाएको छ। वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने भएकाले नदीतटीय क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।
बागमती प्रदेशमा समेत भारी वर्षाको सम्भावना रहेकाले मकवानपुरसहित प्रदेशका पहाडी तथा नदीतटीय क्षेत्रमा सतर्कता आवश्यक देखिएको छ। यद्यपि, मकवानपुरका कुन स्थानमा कति वर्षा हुन्छ भन्ने विस्तृत स्थानीय पूर्वानुमान सार्वजनिक भएको छैन।
प्राधिकरणले मौसमसम्बन्धी जानकारीका लागि ११५५ तथा विपद्का बेला सहयोग आवश्यक परे १२३४, १०० वा १११४ मा सम्पर्क गर्न अनुरोध गरेको छ।
मौसम प्रणालीको दिशा, गति र तीव्रताअनुसार वर्षा हुने समय तथा मात्रा परिवर्तन हुन सक्ने भएकाले विभागबाट जारी हुने पछिल्ला सूचना र चेतावनी नियमित रूपमा पालना गर्न आग्रह गरिएको छ।


