मकवानपुर: संघीय संसदका सभामुख देवराज घिमिरेले श्रमको मूल्य र महत्व पहिचान गर्नुपर्नेमा जोड दिनुभएको छ। भीमफेदी गाउँपालिकाले आयोजना गरेको अनौपचारिक क्षेत्रका श्रमिकहरूको सामाजिक सुरक्षा योजना कार्यक्रमलाई सम्बोधन गर्दै उनले यसो बताएका हुन् ।
उनका अनुसार श्रमको उचित मूल्य र महत्व पहिचान गरी सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन सबै तहका सरकारले पहल गर्नुपर्नेमा जोड दिए । हालसम्म कोषमा ५१ अर्ब २९ करोड रुपैयाँ सङ्कलन भइसकेको पनि उनले बताए ।
उनले भने, ‘राज्यले कमजोर नागरिकको आर्थिक सहयोग र सामाजिक सुरक्षाका लागि यो योजना ल्याएको हो। यसले श्रमिकको जीवन सार्थक बनाउन मद्दत पुर्याउँछ।’
संघीयता कार्यान्वयनमा तीनै तहका सरकार गम्भीर भएर अगाडि बढ्नुपर्ने उनको भनाइ छ। सही नियतले प्रभावकारी योजना बनाएर कार्यान्वयन गर्न सकिएमा कानुनले काम गर्न नरोक्ने उल्लेख गरे । उनले योजनाको प्रभावकारी कार्यान्वयनका लागि श्रमिक र रोजगारदातालाई जानकारी दिनुपर्ने बताउनुभयो। भीमफेदी गाउँपालिकाको पहललाई सकारात्मक रूपमा लिएको बताए ।
कार्यक्रममा एमाले सांसद महेश बर्तौलाले पनि सरकारका तीनै तहले योजनामा लगानी गर्नुपर्ने बताए । सामाजिक सुरक्षाको स्थायित्वका लागि सरकार र श्रमिकको साझेदारी जरुरी रहेको उनको भनाइ छ। उनका अनुसार २७ लाख श्रमिक मध्ये ४ लाख ७८ हजार मात्र कोषमा आबद्ध छन्। ११३ रोजगारदाता संस्था दर्ता भइसकेका छन्।
भिमफेदी गाउँपालिकाले अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा सहभागी गराएर राम्रो काम गरेको छ । तर यो मात्र पर्याप्त छैन । गाउँपालिकाले अब यी श्रमिकहरुका लागि रोजगारीको अवसर बढाउन, क्षमता अभिवृद्धि गर्न र उनीहरुको जीवनस्तरमा सुधार ल्याउन थप पहल गर्नुपर्छ । श्रमिक सशक्तिकरण र विकासमा ध्यान दिएमा मात्र यो कार्यक्रमको प्रभावकारी कार्यान्वयन हुन सक्छ ।



