हेटौंडा- बागमती प्रदेश सभाको छैठौं वार्षिक उत्सव बिहिबार विशेष कार्यक्रम गरेर सम्पन्न भएको छ। २०७४ साल आजकै दिन प्रदेश सभा स्थापना भएको सम्झनामा हरेक माघ १८ गते प्रदेश सभा सचिवालयले विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै मनाउने गर्दछ।
यसै सन्दर्भमा प्रदेश सभाको प्राङ्गणमा बागमती प्रदेशका सभामुख भुवन कुमार पाठकको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल, पूर्व मुख्यमन्त्री डोरमणि पौडेल, प्रदेशका कांग्रेसका संसदीय दलका नेता तथा आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामा, नेकपा एमालेका संसदीय दलका नेता जगन्नाथ थपलिया लगायतकाले आफ्ना धारणा व्यक्त गरेका थिए ।
बिहीवार बागमती प्रदेशसभाको छैटौं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख शर्माले भने , “प्रदेशको विकास र समृद्धिको समस्या सरकार र प्रतिपक्षको साझा हो। यसका लागि संवाद, सहमति र सहकार्यबाट अघि बढ्नु जरुरी छ।” उनले प्रदेश सरकारले कानून निर्माणमा तीव्रता दिनुपर्नेमा जोड दिए । प्रदेशसभाले आफ्ना आवश्यकता पहिचान गरी थप कानून निर्माण गर्न सक्ने क्षमता रहेको प्रदेश प्रमुखको भनाइ छ। उनले भने , “विकासको गति केही ढिला भएपनि गन्तव्य स्पष्ट छ। संसदीय समिति गठन, कार्य सम्पादनमा ढिलाइ हुनुले चासो दिनुपर्छ।”
प्रदेश प्रमुख शर्माले प्रदेश सभाले औद्योगिक विकास र रोजगारी सिर्जना गर्ने नीतिमा काम गर्नुपर्नेमा जोडसमेत दिए । उनले भने , “आगामी दिनमा प्रदेश सभाले उद्योग व्यवसाय स्थापना, विकास र उत्थानका नीति बनाउनु जरुरी छ। साथै सेवाग्राहीको गुनासो सम्बोधन गर्न पनि ध्यान दिनुपर्छ।” उनले समग्र उपलब्धिको संरक्षणमा सबै एकजुट हुनुपर्ने बताए । प्रदेश सरकार र प्रदेश सभालाई थप प्रभावकारी बनाउन प्रदेश प्रमुखको आग्रह रहेको छ।
मुख्यमन्त्रीका अनुसार प्रदेश सरकारको ध्यान अहिले मुख्यतः भौतिक पूर्वाधार विकासतर्फ केन्द्रित रहेको छ। ५० लाखभन्दा कम लागतका पूर्वाधार आयोजना स्थानीय तहलाई हस्तान्तरण गरिने र सोभन्दा ठूला आयोजनाका लागि पूर्वाधार नीति तयार पारिने उनको भनाइ छ। उनले पछिल्लो समय सरकारको आलोचना बढेको सन्दर्भमा सबैले जिम्मेवारीका साथ काम गर्नुपर्नेमा जोड दिए। सामुदायिक विद्यालयको गुणस्तर सुधार, व्यावसायिक तालिम र कृषि क्षेत्रमा पनि नयाँ नीति ल्याउने तयारी भइरहेको उनको भनाइ छ।
उनमा अनुसार प्रदेशका नागरिकहरुलाई व्यवहारिक सिप प्रदान गर्न सरकारले सिटिइभिटीका प्राविधिक कोर्षहरुलाई माध्यमिक विद्यालयस्तरमा ल्याउने गरी अघि बढेको छ । सार्वजनिक विश्वविद्यालय स्थापनाको लागि प्रदेश सरकार अन्तिम तयारीमा गरिरहेको उनको भनाई छ । कृषि क्षेत्रको रुपान्तरणका लागि सरकारले समुदायमा आधारित उत्पादन मोडलमा रहेर कृषक, सहकारी र सरकारलाई जोड्ने गरी काम अघि बढाएको उनले बताए ।
प्रदेश सरकारले अबको बाँकी कार्यकालमा प्रदेश समृद्धिका लागि स्पष्ट नीति बनाउन सकेमा मात्र अघि बढ्न सक्ने मुख्यमन्त्री जम्कट्टेलको भनाइ रहेको थियो ।
कार्यक्रममा प्रदेशसभाका सदस्य गिता गुरूङ, मधुसुदन पौडेल, माया श्रेष्ठ, रामप्रसाद ढुंगाना, लक्ष्मीदेवी श्रेष्ठ, प्रदेशसभाका कर्मचारीहरू कानून अधिकृत मनोजकुमार गुप्ता, कम्प्युटर अधिकृत रोशन प्रधान, कम्प्युटर अपरेटर सरिता घिमिरे र कार्यालय सहयोगी मिना ओझालाई सम्मान गरिएको थियो ।
कार्यक्रममा बागमती प्रदेशसभाले हालसम्म बनाउनुपर्ने कानूनमध्ये ७८ वटा कानून पास भएको र पास भएका कानून मध्ये ४३ वटा ऐन रहेको जनाइएको छ । प्रदेशसभाको दोस्रो कार्यकालको हालसम्म ३४ दिन प्रदेशसभा संचालन भएको र ५६ बैठक बसेको थियोे । बैठकबाट प्रदेशसभामा दर्ता भएका १२ विधेयकमध्ये ८ विधेयक पारित भइसकेको जानकारी दिइएको थियो । पास भएकामध्ये एउटा विधेयक पुनर्विचारका लागि प्रदेश प्रमुखबाट प्रदेशसभामा फिर्ता पठाएका छन् । कार्यक्रममा प्रदेशसभाको मोबाइल एप शुभारम्भ एवं पुस्तक विमोचन गरिएको थियो ।
प्रदेशसभा सचिवालयको प्रांगणमा आयोजित वार्षिक उत्सव कार्यक्रममा प्रदेश सरकारका विभागीय मन्त्री, सांसद, मन्त्रालयका सचिव, सचिवालयका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।