काठमाडौं – नेकपा माओवादी केन्द्रले नयाँ गठबन्धन सरकारमा सुदन किरातीबाहेक अरू सबै पुरानै मन्त्रीलाई नै दोहोर्याउने भएको छ। गठबन्धन परिवर्तनसँगै पुनर्गठन हुने मन्त्रिपरिषदमा माओवादीले अधिकांश पुरानै अनुहारलाई निरन्तरता दिन लागेको हो।
माओवादीबाट नारायणकाजी श्रेष्ठले पुनः उपप्रधान तथा परराष्ट्रमन्त्रीको जिम्मेवारी पाउने भएका छन्। उनी २०६८ मा पनि परराष्ट्रमन्त्री बनिसकेका छन्। त्यस्तै वर्षमान पुन अर्थमन्त्री हुने भएका छन्।
यसैगरी रेखा शर्मा सञ्चार तथा शक्ति बस्नेत ऊर्जामन्त्री हुने भएका छन्। किरातीको ठाउँमा हितबहादुर तामाङलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको जिम्मा दिइने भएको छ।
यसरी माओवादीले मन्त्रिपरिषद् विस्तारमा सुदन किरातीबाहेक बाँकी सबैलाई नै दोहोर्याउने देखिएको छ। केही मन्त्रीहरूको मन्त्रालय फेरिए पनि धेरैजसो पुरानै मन्त्रालयको जिम्मेवारी पाउने भएका छन्।